इटहरी स् झापाको कमल गाउँपालिकामा स्कुल बसको ठक्करबाट अनियन्त्रित भएको मोटरसाइकल ट्रकमा ठोक्किँदा एक युवतीको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्।
बुधबार साँझ कमल गाउँपालिका–३ स्थित सहिद गेटनजिक पूर्व–पश्चिम राजमार्गमा स्कुल बस, मोटरसाइकल र ट्रक एकआपसमा ठोक्किँदा इलाम नगरपालिका–८ की २१ वर्षीया माङकुमारी लिम्बूको मृत्यु भएको हो। प्रहरीका अनुसार झिलझिलेबाट केर्खातर्फ जाँदै गरेको दमक नगरपालिका–९ स्थित सप्तश्री एकेडेमीको मे १ क ६३८ नम्बरको स्कुल बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१८ प ४८८३ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो। बसको ठक्करपछि अनियन्त्रित भएको मोटरसाइकल सडकमा उछिट्टिएर दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५५४ नम्बरको ट्रकमा ठोक्किएको थियो। त्यसक्रममा मोटरसाइकल ट्रकको दाहिनेपट्टिको चक्कामुनि परेको प्रहरीले जनाएको छ।
मोटरसाइकलको पछाडि सवार लिम्बू गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि दमक अस्पताल पुर्याइए पनि चिकित्सकले साँझ ७ः५० बजे मृत घोषणा गरेका थिए। दुर्घटनामा मोटरसाइकल चालक इलाम नगरपालिका–८ का २७ वर्षीय पञ्चबहादुर लिम्बूको बायाँ हातको बूढीऔँलामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले स्कुल बसका चालक दमक–९ का ३५ वर्षीय अतित लिम्बू र ट्रक चालक मेचीनगर नगरपालिका–१४ का ६० वर्षीय गंगाबहादुर भुजेललाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


