इटहरी । तिहारमा सुनसरीको धरानस्थित कृषिउपज बजारस्थलबाट करिब ३० टन फलफूल बिक्री भएको जनाइएको छ ।

तिहारको पाँच दिने यमपञ्चक अवधिमा स्याउ, अनार, सुन्तला, अंगुर, किवी लगायतका फलफूल गरी ३० हजार केजी बिक्री भएको धरान कृषिउपज बजारस्थलले जनाएको छ ।  धरान कृषिउपज बजारस्थलका प्रवन्धक लक्ष्मण भट्टराईका अनुसार तिहारको पाँच दिनमा करिब एक करोड रुपियाँ बराबरको फलफूलको कारोबार भएको छ । तिहारमा फलफूलको माग बढ्ने भएकाले बजारमा विभिन्न जातका फलफूलको बिक्री समेत बढेको उहाँले बताउनुभयो । 

धरान कृषि बजारमा नेपाली उत्पादनसँगै भारत र चीनबाट आयात गरिएका फलफूल बिक्री भएको बताइएको छ । पूर्वी पहाडी जिल्लामा उत्पादन भएका अम्बा, ड्रागन फ्रुट, किवी, एभोकाडो र सुन्तला लगायतका फलफूल व्यपारी र किसान मार्फत धरान कृषि बजारमा आउने गरेको प्रवन्धक लक्ष्मण भट्टराईले बताउनुभयो । उहाँका अनुसार स्याउ, अनार र अंगुरजस्ता फलफूल भारत तथा चीनबाट व्यपारीमार्फत आउने गरेका छन् । 

बजारमा बिक्री हुने फलफूलमध्ये करिब आधा नेपाली उत्पादन रहेको व्यवस्थापक भट्टराईले बताउनुभयो । नेपाली उत्पादनमा मुख्यगरी एभोकाडो, किवी र सुन्तला रहेको छ । धरान कृषिउपज बजारस्थलमा आउने नेपाली फलफूलमध्ये अधिकांश पूर्वी पहाडी जिल्लाहरु तेह्रथुम, धनकुटा, ताप्लेजुङ, भोजपुर र सङ्खुवासभा लगायतका जिल्लाबाट सुन्तला, किवी, एभोकाडो र अन्य मौसमी फलफूल धरान बजारमा आउनेगरेका छन् ।

पहाडी जिल्लाबाट सङ्कलन भएर आएका फलफूल व्यापारीमार्फत इटहरी, विराटनगर लगायत पूर्वी नेपालका विभिन्न सहर तथा ग्रामीण बजारसम्म पुग्ने गरेका छन् । भारत र चीनबाट आयात गरिएका स्याउ, अनार र अंगुर लगायतका फलफूल पनि धरानका व्यापारीमार्फत पूर्वी नेपालको विभिन्न जिल्लामा पुग्ने गरेको धरान कृषि बजारस्थलले जनाएको छ । 

धरान कृषिउपज बजारस्थल कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा उत्पादित कृषिउपजको सङ्कलन, बिक्री वितरण र बजारीकरण गर्ने प्रमुख केन्द्रका रूपमा रहेको छ । बजारस्थलबाट फलफूल तथा तरकारी पूर्वी नेपालका विभिन्न बजारमा आपूर्ति हुँदैआएको छ ।