इटहरी । धनकुटाको महालक्ष्मी नगरपालिका–१, घुमाउने स्थित श्री हिमालय माध्यमिक विद्यालयमा तिहार तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान, अक्षयकोष पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष टेकबहादुर गुरुङ प्रमुख अतिथि तथा लोकबहादुर गुरुङ र ईश्वर गुरुङ विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा डा. विनोद गुरुङद्वारा आफ्ना परिवारका अग्रजहरूको स्मृतिमा स्थापित अक्षयकोषबाट विभिन्न विधामा विद्यार्थीलाई छात्रवृत्ति तथा पुरस्कार वितरण गरिएको छ।

स्वर्गीय धनमाया स्मृति पुरस्कारबाट ३ जना, स्वर्गीय सनमाया स्मृति पुरस्कारबाट ५ जना र स्वर्गीय छविलाल स्मृति पुरस्कारबाट १० जना विद्यार्थी पुरस्कृत भएका छन्। त्यस्तै, कक्षा ६ देखि १० सम्म प्रथम हुने विद्यार्थीलाई जनही ५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ। गरिब तथा जेहेन्दार ४१ जना विद्यार्थीलाई स्विटर समेत वितरण गरिएको विद्यालयका प्रधानाध्यापक तिलक गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुति राखेका थिए । तिहारको उल्लाससँगै शिक्षक, विद्यार्थी र अभिभावकले सामूहिक रूपमा देउसीभैलो समेत खेलेका थिए । देउसीभैलोबाट १ लाख १४ हजार ६ सय ३० रुपैयाँ संकलन भएको छ ।

उक्त रकम विद्यालय भवनको रंगरोगन तथा सौन्दर्यीकरणमा खर्च गरिने जनाइएको छ । विद्यार्थीलाई प्रोत्साहन, मौलिक संस्कृतिको संरक्षण र विद्यालयको भौतिक विकासलाई एकसाथ अघि बढाउने उद्देश्यले आयोजित कार्यक्रमले ‘हाम्रो विद्यालय, राम्रो विद्यालय’ भन्ने अभियानलाई थप बल पु¥याएको छ ।