इटहरी । सुनसरीको भुटाहा निवासी अन्दाजी ४० वर्षीय साबिर मियाँको बूढीगंगास्थित विराट टिचिङ अस्पतालमा उपचारका क्रममा चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले गम्भीर आरोप लगाएका छन् । 

उनीहरूले अस्पतालको उपचार प्रक्रियामाथि प्रश्न उठाउँदै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। परिवारका अनुसार सामान्य पेट दुख्ने समस्या देखिएपछि मियाँ अस्पताल पुगेका थिए। अस्पतालमा चिकित्सकले वास्तविक अवस्थाबारे स्पष्ट जानकारी नदिई दबाब सिर्जना गरेर शल्यक्रिया गर्न बाध्य पारेको बिरामी पक्षको आरोप छ। पहिलो शल्यक्रियापछि पनि अवस्था सुधार नभएकाले पर्याप्त परामर्शबिना नै पुनः अर्को शल्यक्रिया गरिएको थियो। शल्यक्रियापश्चात बिरामीको अवस्थाबारे जानकारी माग्दा जीवितै रहेको बताइए पनि भोलिपल्ट अस्पतालले मृत्यु भएको खबर५ सुनाएको आफन्तले बताएका छन्।

यस आकस्मिक घटनाले परिवार स्तब्ध भएको छ भने आफन्तहरू आक्रोशित बनेका छन्। परिवारले घटनाको निष्पक्ष छानबिन गरी संलग्न चिकित्सक तथा पक्षको भूमिका सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन्। यस विषयमा अस्पताल प्रशासन तथा सम्बन्धित चिकित्सकको आधिकारिक धारणा भने आउन बाँकी छ ।