इटहरी । नेवाः समुदायको सामाजिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा लामो समयदेखि अतुलनीय योगदान पु¥याउँदै आउनुभएका प्राध्यापक जगन्नाथ श्रेष्ठ सम्मानित हुनुभएको छ । 

नेपाल संवत् ११४७ को शुभ अवसरमा नेवाः देय् दबू इनरुवा नगर समिति, नेवा उत्थान समाज इनरुवा र नेवाः देय् दबू इनरुवा–६ को संयुक्त आयोजनामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा श्रेष्ठलाई दोसल्ला र सम्मानपत्र द्वारा सम्मान गरिएको हो। इनरुवा वडा नं. ३ निवासी, सुनसरी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख तथा नेवा समाजका पूर्वअध्यक्ष श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो।

नगर प्रमुख भण्डारीले नेवार भाषा संरक्षण तथा तालिम सञ्चालनका लागि एक लाख रुपैयाँ सहयोगको घोषणा गर्नुभयो। नेवाः देय् दबू इनरुवाका अध्यक्ष घगेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेवाः देय् दबू सुनसरीका अध्यक्ष केदार कुमार श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा इनरुवा–६ का वडाध्यक्ष सुमन थापा, जिल्ला कोषाध्यक्ष यज्ञराज श्रेष्ठ, सदस्य दिल श्रेष्ठ, नगर वरिष्ठ उपाध्यक्ष कृष्ण श्रेष्ठ, उपाध्यक्ष रिना श्रेष्ठ, सचिव छत्र श्रेष्ठ, कोषाध्यक्ष योगेन्द्र राज श्रेष्ठ, सदस्य सीता श्रेष्ठ र संस्थापक अध्यक्ष केशव कुमार श्रेष्ठ लगायतका पदाधिकारी, सल्लाहकार, सामाजिक अगुवा तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले भाषा र संस्कृति संरक्षणमा जोड दिएका थिए।