इटहरी स् इलामको माईजोगमाई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमै फोहोर फ्याँकिएको घटनाप्रति नेकपा एमाले जिल्ला कमिटी इलामले आपत्ति जनाएको छ।
जिल्ला कमिटी अध्यक्ष गणेशप्रसाद बरालले आज जारी गरेको प्रेस विज्ञप्तिमा घटनाको निन्दा गरिएको छ। मंसिर १ गते केही व्यक्तिको समूहले जनप्रतिनिधिका कार्यकक्षमै प्रवेश गरेर फोहोर फ्याँकेको घटनालाई विज्ञप्तिमा असभ्य, अराजक र कानुनविपरीतको कार्य भनिएको छ। एमाले इलामले घटनामा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। यस्ता गतिविधि नगर्न र समस्या समाधानका लागि रचनात्मक तथा कानुनी बाटो अपनाउन पनि सबै पक्षलाई अपिल गरिएको छ।
माईजोगमाई गाउँपालिका–१, नयाँबजारमा फोहोरमैला व्यवस्थापनमा गाउँपालिकाले लामो समयदेखि बेवास्ता गरेको र फोहोर नउठाएको भन्दै असन्तुष्ट स्थानीय बासिन्दा तथा युवाको समूहले सांकेतिक विरोधस्वरूप अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमा फोहोर थुपारेको थियो।


