इटहरी। भोजपुरको साल्पासिलिछो गाउँपालिका –४ खाटाम्माको नयाँ वडा कार्यालय भवन निर्माण सम्पन्न भएसँगै नवनिर्मित भवनबाट सेवा सुचारु भएको छ ।  

विगत लामो समयदेखि पुरानो तथा कच्चा जस्तापाता, झ्याल, ढोका, भत्किएको भित्ता लगायत जीर्ण भवनबाट सेवा दिँदै आएको वडा कार्यालयले नयाँ वडा कार्यालय भवन निर्माण गरी नवनिर्मित भवनबाट सेवा सुचारु गरेको हो । स्थानीय कृष्ण गिरी, सिलामाया राई र रामबहादुर राईले निःशुल्क रुपमा प्रदान गरेको साढे पाँच रोपनी जग्गामा कुल १ करोड १० लाख लागतमा ३ तले भवन निर्माण सम्पन्न भएसँगै वडा कार्यालयले प्रदान गर्ने सम्पूर्ण सेवाहरू नयाँ भवनबाट प्रदान गर्न थालिएको वडासचिव नवीनकुमार यादवले बताउनुभयो । 

उहाँका अनुसार नवनिर्मित भवनबाट वडाको प्रशासनिक सेवा, प्राविधिक सेवा, कृषि, पशु, स्वास्थ्य लगायत वडा कार्यालयबाट प्रदान गर्ने सम्पूर्ण सेवाहरू सुचारु गरिएको छ । वडा कार्यालयको नयाँ भवन निर्माण भएसँगै विगत लामो समयदेखि जीर्ण वडा कार्यालय भवनबाट सञ्चालित सेवाहरू नयाँ वडा कार्यालय भवनबाट सुचारु गरेको वडाध्यक्ष सञ्जय राईले बताउनुभयो । निकै जीर्ण अवस्थामा रहेको वडा कार्यालय भवन हाल नव निर्माण हुँदा खुसी व्यक्त गर्दै स्थानीय रामबहादुर राईले वडा अध्यक्ष सञ्जय राईको नेतृत्वमा वडामा भएका कामहरूको प्रशंसा गर्नुभयो । 

सङ्घीयता पश्चात् गाउँ–गाउँमा सिंहदरबार भन्ने गरेता पनि दुर्गम क्षेत्रका कतिपय स्थानीय तहमा आफ्नै प्रशासनिक संरचनाहरू नहुँदा प्रभावकारी सेवा प्रवाहमा समस्या हुँदैआएको अवस्थामा खाटाम्मा जस्तो दुर्गम क्षेत्रको वडाले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गर्नु एउटा उदाहरणीय काम हो ।