इटहरी । धनकुटा नगर क्षेत्रमा मात्रै मुख्य बसोबास रहेको आठपहरिया समुदायको मुख्य चाड वडाङ्मीको अवसरमा धनकुटा नगरपालिकाले मङ्सिर ८ र ९ गते स्थानीय बिदा दिने निर्णय गरेको छ । आठपहरिया समुदायको एक महिनासम्म चल्ने मुख्य वडाङ्मी अर्थात् मङ्सिरे चाडको अवसरमा नगरपालिकाले दुई दिन बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाले सूचना जारी गर्दै स्थानीय पर्वको अवसरमा दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको जनाएको छ । धनकुटा नगर क्षेत्रमा मात्रै मुख्य बसोबास रहेको सीमान्तकृत समुदाय आठपहरियाको मुख्य चाड सुरु भएको छ । यो चाड उनीहरूले एक महिनासम्म मनाउने गर्छन् । सोही अवसरमा प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र सापकोटाद्वारा जारी सूचनामा धनकुटा नगरस्तरीय कार्यालय, शैक्षिक संस्था तथा अत्यावश्यक सेवाबाहेकका निकायमा स्थानीय बिदा दिने निर्णय गरिएको जनाइएको छ ।
आठपहरिया समुदायले विशेषगरी वैशाखे, भदौरे र मङ्सिरे गरी तीन वटा चाड मनाउने गरेकामा वडाङ्मी अर्थात् मङ्सिरे चाडलाई महत्त्वपूर्ण तथा ठूलो चाडका रूपमा मनाउने गर्छन् । यो चाडमा दुःखबाट उक्सिने, घरमा जेठो छोरो जन्मिँदा र नयाँ घर निर्माण गरेपछि हर्षोल्लास मनाउने प्रचलन छ । वर्षभरि आफ्ना बुवाआमा गुमाउनेहरू धनकुटाबाट पैदल हिँडेर सुनसरीको बराहक्षेत्र जाने गर्छन् । बराहक्षेत्र पुगेर कोकाहा खोलामा कपाल र दाह्री खौरिएर सोसहित दसी बगाउने तथा बराह भगवान्को दर्शन गरी देउता आफ्नो घरमा लिएर आउने प्रचलन रहिआएको छ ।
यस्तै, उनीहरूको ठूलो घर अर्थात् ५२ चुले घरमा भोज खुवाउने र आठपहरियाको कला, संस्कृति, भेषभूषा तथा रीतिथितिअनुसार नाचगान गर्ने प्रचलन छ । उक्त नाच आठपहरियाको घरघरमा पुगेर औँसीसम्म नाच्ने गरिन्छ । चाडका अवसरमा आठपहरिया समुदायभित्रका हुम्बारक, छिर्लिङे र खावाडो तीन पाछाको पुस्तागत डल्ले नाच नाच्ने चलन छ ।

