इटहरी । नेपाल फोटो पत्रकार समूह सुनसरी शाखाको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम शनिबार युवा विकास केन्द्रमा सम्पन्न भएको छ ।

कार्यक्रममा कोशी प्रदेशका प्रेस रजिस्ट्रार तथा कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानका प्रमुख लीलाराज भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । पदस्थापन कार्यक्रममा समूहको अध्यक्षमा गुरु ढकाल, उपाध्यक्षमा खेमराज श्रेष्ठ (सुवास संकल्प), सचिवमा केशव सिग्देल (पवन) र कोषाध्यक्षमा दिनेश श्रेष्ठले जिम्मेवारी पाउनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यमा मिलन अधिकारी, सञ्जीव तिम्सिना र दोलराज तिम्सिना रहनुभएको छ भने साधारण सदस्यमा रामबहादुर तामाङ (इजन), जेसिस भट्टराई र दीपक भुजेल रहनुभएको छ  ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले नेपाल फोटो पत्रकार समूह सुनसरीले अघि सारेका कार्यक्रम तथा योजनालाई प्रतिष्ठानले सम्भव भएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नवनियुक्त अध्यक्ष ढकालले फोटो पत्रकारहरूको क्षमता विकासलाई प्राथमिकतामा राख्दै आगामी तीन वर्षभित्र सुनसरीका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान र प्रचारप्रसारमा काम गर्ने बताउनुभयो ।

उहाँले सुनसरीका सम्भावना र विशेषतालाई तस्बिर मार्फत राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसहित समूहलाई देशकै उत्कृष्ट शाखाका रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । समूहले फोटो पत्रकारिताको व्यावसायिक विकाससँगै जिल्लाको कला, संस्कृति, पर्यटन तथा ऐतिहासिक सम्पदाको प्रवद्र्धनमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ।