इटहरी स् राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका झापा जिल्ला अध्यक्ष प्रेमबहादुर घिमिरेले पदबाट राजीनामा दिएका छन् ।
महाअभियान नेपाल पथ पार्टीमा रूपान्तरण भएपछि घिमिरेले जिल्ला सचिव जीवन पाठक र नागरिक युवा दस्ताका संयोजक विष्णु गुरुङसँगै संयुक्त रूपमा राजीनामा दिएका हुन् । उनीहरूले राजीनामा पत्रमार्फत अभियानको नयाँ राजनीतिक स्वरूपसँगै आफूहरू स्वतन्त्र र निष्पक्ष रूपमा सहकार्य गर्ने निष्कर्षमा पुगेको जनाएका छन् । नागरिक अधिकार, समाजसेवा र जनताको हकहितका लागि काम गर्दै आएको अभियान पार्टीमा रूपान्तरण भएपछि आफूहरूले पदमा रहिरहन उपयुक्त नठानेको उनीहरूको भनाइ छ ।
तीनै जनाले आजकै मितिदेखि लागू हुने गरी आ–आफ्नो जिम्मेवारी त्यागेको राजीनामा पत्रमा उल्लेख गरेका छन् । यसअघि मंसिर ७ गते बिर्तामोडमा नेपाल पथ पार्टीको जिल्ला कार्यालय उद्घाटन कार्यक्रममा प्रेमबहादुर घिमिरेलाई झापा जिल्ला अध्यक्षका रूपमा प्रस्तुत गरिएको थियो । त्यसको भोलिपल्टै महाअभियानको जिल्ला नेतृत्वबाट सामूहिक राजीनामा आएको हो ।


