इटहरी । सुतेकी श्रीमतीको मृत्यु भएको भन्दै आफन्तलाई खबर गरे । घरमा अन्त्येष्टिको तयारी सुरु भयो । धार्मिक संस्कारका कामसमेत अघि बढिसकेका थिए । तर, माइती पक्षलाई मृत्यु स्वाभाविक लागेन । उनीहरुको त्यही आशंकाले अन्त्येष्टिको तयारी रोकियो र दुई महिनापछि लुकेको हत्याको रहस्य बाहिर आयो ।
मोरङको केराबारी गाउँपालिका–७, दाहालचोकनजिक शान्तिमार्ग टोल बस्ने ५० वर्षीय उत्तमकुमार लिम्बू आफ्नी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । उनले आफ्नी ४८ वर्षीया श्रीमती सन्चमाया राईको हत्या गरेर घटनालाई स्वाभाविक मृत्युका रुपमा देखाउन खोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सन्चमाया गत असोज ८ गते राति पौने १२ बजे घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । श्रीमतीको मृत्यु भएको भन्दै उत्तमकुमारले माइती पक्षलाई खबर गरे । त्यसपछि घरमा अन्त्येष्टिको तयारी थालियो । तर, माइती पक्षका सदस्यले शवको अवस्था र घटनासँग जोडिएका परिस्थितिमाथि शंका गरे । मृतकका भाइ मन राईले असोज ९ गते इलाका प्रहरी कार्यालय केराबारीमा खबर गरेपछि प्रहरी घटनास्थल पुग्यो । माइती पक्षले हत्या भएको हुनसक्ने आशंका गर्दै निष्पक्ष अनुसन्धान र पोस्टमार्टमको माग गरेपछि अन्त्येष्टिको प्रक्रिया रोकियो ।
शवको पोस्टमार्टम नगरी अन्त्येष्टि गर्न दबाब आएपनि प्रहरीले कानुनी प्रक्रिया पूरा नगरी शव जलाउन दिएन। अन्ततः शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइयो। पोस्टमार्टमपछि आएको रिपोर्टले घटनालाई नयाँ मोड दियो । रिपोर्टमा सन्चमायाको मृत्यु स्वाभाविक नभई हत्या भएको देखिएको थियो । भुत्ते वस्तुको प्रहारबाट चोट लागेको अर्थात् ‘ब्लन्ट फोर्स इन्जुरी’ उल्लेख भएपछि प्रहरीको अनुसन्धान थप गहिरियो । यसले उत्तमकुमारले श्रीमतीलाई ठेलेर लड्दा मृत्यु भएको भन्ने प्रारम्भिक दाबीमाथि गम्भीर प्रश्न खडा गर्यो । प्रहरीका अनुसार उत्तमकुमारले मदिरा सेवनपछि घरायसी विवाद हुँदा श्रीमतीलाई ठेलेको र उनी लडेर केही बेरपछि मृत्यु भएको बयान दिएका थिए । तर, पोस्टमार्टम रिपोर्ट र घटनास्थलबाट संकलित प्रमाणले उनको भनाइलाई समर्थन नगरेपछि प्रहरीले अनुसन्धानको दायरा साँघुरो बनाउँदै लग्यो।
अनुसन्धानका क्रममा उत्तमकुमार र सन्चमायाले दुई वर्षअघि मात्रै विवाह गरेको खुलेको छ । दुवैका यसअघिका श्रीमान–श्रीमतीको मृत्यु भइसकेको थियो । विवाहपछि घरमा उनीहरु मात्रै बस्दै आएका थिए । सन्चमायाको माइती धनकुटाको साँगुरीगढी गाउँपालिका–७ मा रहेको छ । मृतकका यसअघिका श्रीमानतर्फका छोराले उत्तमकुमारविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई मंसिर १ गते पक्राउ गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार हालसम्मको अनुसन्धानले सन्चमायाको हत्यामा उत्तमकुमारकै संलग्नता देखाएको छ ।
घटनापछि पोस्टमार्टम हुन नदिन विभिन्न ठाउँबाट दबाब आएको प्रहरी स्रोतको भनाइ छ । तर, माइती पक्षको अडान र प्रहरीको अनुसन्धानका कारण शवको परीक्षण सम्भव भयो । अन्ततः अन्त्येष्टिको तयारी रोक्न बाध्य बनाएको त्यही आशंका र पोस्टमार्टम रिपोर्ट नै घटनाको रहस्य खोल्ने महत्वपूर्ण आधार बने । हाल उत्तमकुमारमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ । घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले गरिरहेको प्रहरीले जनाएको छ ।


