इटहरी स् कोशी प्रदेशका यातायात व्यवस्था कार्यालयहरूको आवश्यकता, औचित्य र प्रभावकारिताबारे प्रदेशसभाको न्याय प्रशासन तथा विधायन समितिले अध्ययन गर्ने भएको छ ।

यातायात कार्यालय स्थापना गर्दा सेवाग्राहीको चाप र आवश्यकतालाई ध्यान नदिइएको भन्दै प्रदेशसभा सदस्यहरूले प्रश्न उठाएपछि समितिले प्रदेशभरका कार्यालयको अवस्थाबारे अध्ययन गर्ने निर्णय गरेको हो । सोमबार बसेको समितिको बैठकमा सांसद नारायण बुर्जामगरले केही यातायात कार्यालयमा सेवाग्राहीको उपस्थिति अत्यन्त न्यून रहेको विषय उठाए । उनले ओखलढुङ्गाको रुम्जाटारस्थित यातायात कार्यालयमा दिनभर एक जना सेवाग्राहीसमेत नआउने अवस्था रहेको बताए ।

सेवाग्राही नै नपुग्ने स्थानमा कार्यालय सञ्चालन गर्नुको औचित्यमाथि प्रश्न उठाउँदै उनले प्रदेश सरकारले कहाँ–कहाँ कति यातायात कार्यालय सञ्चालन गरिरहेको छ भन्नेबारे विस्तृत अध्ययन गर्नुपर्ने धारणा राखे । सांसद रमेश बस्नेतले पनि प्रदेशका १४ वटै जिल्लामा सञ्चालित यातायात कार्यालयको सङ्ख्या र तिनबाट प्रवाह भइरहेको सेवाको प्रभावकारिता परीक्षण गर्नुपर्ने बताए ।

सांसदहरूले कार्यालयहरूको आवश्यकतामाथि प्रश्न उठाएपछि समितिकी सभापति कमला दर्नालले यस विषयमा अध्ययन गरी सरकारलाई आवश्यक निर्देशन दिने बताइन् । बैठकमा इटहरीस्थित यातायात व्यवस्था कार्यालयको व्यवस्थापनबारे पनि सांसदहरूले प्रश्न उठाएका थिए । कार्यालयमा पार्किङको उचित व्यवस्था नभएको र कार्यालय परिसरको पछाडिपट्टि नयाँ प्रवेशद्वार निर्माण गरिएको विषयमा समेत छलफल भएको थियो ।

उक्त प्रवेशद्वार सेवाग्राहीको सहजताका लागि निर्माण गरिएको हो वा त्यसमा अन्य कुनै स्वार्थ जोडिएको छ भन्नेबारे सांसदहरूले चासो राखेका थिए । सभापति दर्नालका अनुसार समितिले मङ्गलबार इटहरीस्थित यातायात व्यवस्था कार्यालयको स्थलगत अनुगमन गरी बैठकमा उठेका विषयबारे छानबिन गर्नेछ । यसअघि समितिले दिएका निर्देशन कार्यान्वयन भए–नभएको अवस्थासमेत अनुगमन गरिने उनले बताइन् । यसैबीच, समितिअन्तर्गतको प्रत्यायोजित विधायन उपसमिति पनि पुनर्गठन गरिएको छ । सांसद रमेश बस्नेतको संयोजकत्वमा नारायण बुर्जामगर र सदानन्द मण्डल सदस्य रहने गरी उपसमिति पुनर्गठन गरिएको सभापति दर्नालले जानकारी दिइन् ।