काठमाण्डाै । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले बागमती प्रदेशबाट पहिलो मुख्यमन्त्री पाएको छ। एमालेबाट फुटेर नयाँ पार्टी बनेको दुई महिना नपुग्दै नेपाल नेतृत्वको पार्टीले सबैभन्दा ठूलो लाभ बागमतीबाट लिएको हो।
संघीय सरकारमा चार मन्त्री र एक मन्त्रीसहित सहभागी भइसकेको नेपाल नेतृत्वको पार्टी बागमतीबाट मुख्यमन्त्री यात्रा थालेको हो।बागमतीबाट मुख्यमन्त्रीको ढोका खोलेको समाजवादीले प्रदेश १ मा पनि नेतृत्व लिने सम्भावना छ। गठबन्धन दलबीच सहमति भएमा आगामी कात्तिक १५ गते प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने छन्।
नेकपा विभाजनपछि राष्ट्रिय सभाको उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा बादललाई हार चखाएर अघि बढेका नेपालले समाजवादी गठनपछि प्रदेश सरकारको पहिलो नेतृत्व बागमतीबाट लिएका हुन्। एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन नसक्ने भएपछि बुधबार मात्रै बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएकी छन्।
मुख्यमन्त्री शाक्यको राजीनामासँगै १ सय ५ सदस्यीय प्रदेश सभाको बहुमत अर्थात् ५९ जनाको समर्थन पाएका एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले उक्त पद बिहीबारदेखि सम्हाल्दैछन्।
बागमती प्रदेश सभामा एकीकृत समाजवादीका १३ जना मात्रै सांसद छन्। तर, प्रदेश सरकारबाट एमालेलाई हटाएपछि दुई–दुई प्रदेश सरकारको नेतृत्व गर्ने कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको आन्तरिक सहमति अनुसार बागमतीको नेतृत्व पाएको हो।
माओवादी केन्द्रबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी गरी तीन प्रदेशमा मुख्यमन्त्री छन्। तर, आन्तरिक सहमति कार्यान्वयन भए कर्णाली सरकारको नेतृत्व यही कात्तिक १५ गते माओवादीले कांग्रेसलाई हस्तान्तरण गर्नेछ। गण्डकी र कर्णाली गरी दुईवटामा कांग्रेसले सरकारको नेतृत्वमा हुनेछ।
एकीकृत समाजवादीको भागमा भने बागमतीका अलावा प्रदेश १ परेको छ। तर, त्यहाँ पनि सत्तारुढ गठबन्धनकै बहुमत भएकाले आन्तरिक सहमति कार्यान्वयन भए समाजवादी संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री हुनेछन्।
तर, कांग्रेसभित्रको आन्तरिक किचलोका कारण एमालेका मुख्यमन्त्री भीम आचार्यलाई आफ्नो कार्यकाल लम्ब्याउन सहज भएको छ। कांग्रेसभित्र आन्तरिक किचलो नभएको भए बागमतीभन्दा पहिले प्रदेश–१ मा एकीकृत समाजवादीले प्रदेश सरकारको नेतृत्व लिने थियो।
प्रदेश–१ मा सरकारको नेतृत्वका लागि एकीकृत समाजवादीले अझै केही दिन प्रतीक्षा गर्नुपर्ने अवस्था भएकाले पाण्डे पार्टी गठनको दुई महिना नपुग्दै पहिलो मुख्यमन्त्री बन्न पाउने ‘भाग्यमानी’ बनेका छन्।
राष्ट्रिय सभामा पहिलो जीत
एमालेबाट औपचारिक विभाजनअघि नै एकीकृत समाजवादीका अध्यक्ष नेपालनिकट उम्मेदवारले राष्ट्रिय सभाको उपनिर्वाचनमा यही प्रदेशबाट एमाले उम्मेदवारलाई हराएका थिए।६ जेठ (२०७८) मा भएको उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा ‘बादल’ नेपाल पक्षीय उम्मेदवार डा. खिमलाल देवकोटाबाट पराजित भएका थिए।
नेकपा विभाजनपछि माओवादीले एमाले प्रवेश गरेका राष्ट्रिय सभा सदस्य थापालाई पदमुक्त गरेको थियो। थापाका साथ एमालेमै रहेका अर्का राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका थिए। त्यसपछि बागमती र लुम्बिनी प्रदेशका रिक्त स्थानमा उपनिर्वाचन भएको थियो।
लुम्बिनीको रिक्त सदस्यमा तत्कालीन विपक्षी गठबन्धनबाट कांग्रेसका हृदनारायण पाण्डे र एमालेबाट खड्का नै उम्मेदवार बने। निर्वाचनमा गठबन्धनका पाण्डे विजयी भए। जो एमालेको तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य पद छाडेर कांग्रेस प्रवेश गरेका थिए।
बागमती विपक्षी गठबन्धनले डा. देवकोटालाई उम्मेदवार बनायो। डा. देवकोटालाई उम्मेदवारका रुपमा एकीकृत समाजवादीका नेता नेपालले प्रस्ताव गरेका थिए। भलै, त्यो बेला एमाले औपचारिक रुपमा विभाजित भएको थिएन। निर्वाचनमा डा. देवकोटाले चुनाव चिन्ह ‘कलम’ लिए, जुन चिन्ह आगामी निर्वाचनमा एकीकृत समाजवादीले प्रयोग गर्नेछ।
यो प्रदेशमा कांग्रेस, माओवादी र जसपाको मत मात्रैले विपक्षी गठबन्धनका उम्मेदवार विजयी हुन नसक्ने भएकाले एमालेको माधव नेपाल–झलनाथ खनाल समूहका डा. देवकोटालाई उम्मेदवार बनाइएको थियो। आशा गरे बमोजिम नै डा. देवकोटाले एमालेका मतदाताबाट समर्थन प्राप्त गरे र एमालेका थापालाई पराजित गर्दै राष्ट्रिय सभामा निर्वाचित भए।
राष्ट्रिय सभामा निर्वाचित भएपछि थापाले आफू स्वतन्त्र हैसियतमै रहने बताएका थिए। तर, एमाले विभाजित भएपछि उनको निकटता एकीकृत समाजवादीमै रहेको मानिन्छ। यद्यपि, औपचारिक रुपमा भने उनी अझै पार्टीमा खुलिसकेका छैनन्। एमाले विभाजनयता एकपछि अर्काे गर्दै एकीकृत समाजवादीलाई ‘लाभको परिणाम’ दिने प्रदेश भने बागमती बनेको छ।


