प्रधानमन्त्री देउवा नोभेम्बर १ (कात्तिक १५) मा कोप २६ को उद्घाटनमा सहभागी हुनेछन् र विश्वका नेताहरूको सम्मेलनमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री देउवाले विभिन्न राष्ट्रका प्रमुखहरू र सरकार प्रमुखहरूसँग द्विपक्षीय साइडलाइन वार्ताहरू गर्नेछन् ।
त्यसअघि, अक्टोबर ३० (कात्तिक १३) मा प्रधानमन्त्री देउवा अल पार्टी पार्लियामेन्टरी ग्रुप फर नेपाल (एपीपीजी–एन) र यूके–नेपाल ट्रेड एन्ड इन्भेस्टमेन्ट फोरमले आयोजना गरेको स्वागत कार्यक्रममा उपस्थित भई सम्बोधन गर्नेछन् ।
बेलायतमा रहँदा प्रधानमन्त्री देउवाले बेलायत–नेपाल समाज, गैरआवासीय नेपाली संघ र यूकेमा रहेका नेपालीहरूसँग भेटघाट गर्नेछन् । देउवा अक्टोबर ३१ (कात्तिक १४)मा लण्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । यस्तै, गोर्खा भेटेरान्स संगठनका सदस्यहरू, बेलायती सांसदहरू र नेपाली डायस्पोराका अरू सदस्यहरूसँग भेटघाट गर्नेछन् ।
प्रधानमन्त्री देउवा नोभेम्बर १ (कात्तिक १५) को साँझ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्र र सरकार प्रमुखहरूको स्वागतामा आयोजना गर्ने कार्यक्रममा उपस्थित हुनेछन् । नोभेम्बर २ मा बेलायती प्रधानमन्त्री जोन्सन र स्कटल्यान्डका फस्ट मिनिस्टरले आयोजना गर्ने ‘ब्रेकफास्ट रिसेप्सन’ मा सहभागी हुनेछन् ।नोभेम्बर ३ (कात्तिक १७) मा प्रधानमन्त्री देउवाले रोयल बोटनिक गार्डेन भ्रमण गर्ने कार्यसूची छ । त्यहाँ उनले उपस्थितहरूलाई सम्बोधन गर्नेछन् । प्रधनमन्त्री देउवाले नेपाली गार्डेनमा बिरुवा रोप्ने छन् ।
नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री देउवाको साथमा वन तथा वातावरणमन्त्री रामसहाय यादवसहित नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनेछन् । नेपाली प्रतिनिधिमण्डल नोभेम्बर ३ (कात्तिक १७) मा यूकेबाट फर्कनेछ भने नोभम्बर ४ (कात्तिक १८) मा नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । कोप २६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म स्कटल्याण्डको ग्लासगोमा हुँदै छ ।


