२०७४ सालमा भएको स्थानीय तहको निर्वाचन भए यता सुन्दरहरैँचामा ११ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा भईसकेको छ । हरेक आउने प्रमुख प्रशासकीय अधिकृत प्राय:९ महिना देखि ६ महिनासम्म मात्र नगरपालिकाको कार्यभार सम्हालेर बस्ने गरेको देखिएको छ ।
मोरङ जिल्लाको अन्य पालिकाहरु हेर्दा धेरै प्रमुख प्रशासकीय अधिकृत फेरिने नगरमा सुन्दरहरैँचा नगरपालिका पर्दछ । जनप्रतिनिधि र कर्मचारी बिचको मिलन नहुँदा प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर जाने गरेका छन ।
एउटै नगरमा ५ वर्ष बित्नै लाग्दा दर्जनौ प्रमुख प्रशासकीय अधिकृतहरु सरुवा हुँदा नगरमा दीर्घकालीन योजनाहरुका कामहरु समयमै सम्पन्न हुन सकेका छैनन ।
त्यसो त नगरमा पछिल्लो दुई महिना देखि कार्यालय प्रमुख विहीन भएको छ । राजनितिक दलको अधिवेशनसँगै जनप्रतिनिधिहरु आफ्नै दलको महाधिवेशनमा व्यस्त हुनु र कार्यकारी प्रमुखहरु पनि विविध काममा नगरबाट बाहिर हुनाले नगरको सेवा प्रवाह समेत दुई महिना देखि लथालिङ्ग अवस्थामा छ ।
गाउँगाउँमा स्थानीय सरकार आएको पाच बर्ष बित्न लाग्दा पनि कर्मचारी व्यवस्थापन र स्थिरता नहूँदा बिकासले गति लिन सकेको छैन् । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पाउनै मुस्किल हुने, आउनै नमान्ने र सरुवा भएर आएकाहरु समेत लामो समयसम्म टिक्न नसक्दा नगर प्रशासकीय अधिकृत विहीन भएको छ ।
मुस्कान सहितको सेवा दिने भनेर नगरको प्रवेशद्वारमा सुचना राखिएको भएता पनि कार्यालयमा प्रमुख प्रशासकिय र नगरप्रमुख नभेटिदा सुन्दरहरैचा नगरमा आउने सेवा ग्राहिहरु अँध्यारो अनुहार बनाएर गुनासो पोख्दै हिड्न थालेका छन ।


