इनरुवा : सुनसरी एमालेमा सातौँ अधिवेशनको क्रममा अहिले नेतृत्वमा पुग्न रस्साकस्सी छ । अध्यक्षको लागि मङ्गलवार हुने निर्वाचनमा रेवती रमण भण्डारी, खेमराज पोख्रेल र द्वारिकलाल चौधरी प्रतिस्पर्धा हुदैछ । तिन जना चुनावी मैदानमा भए पनि खासमा प्रतिस्पर्धा भने खेमराज पोख्रेल र रेवती रमण भण्डारी बिच हुने माहौल देखिन्छ ।
भण्डारी र पोख्रेल यी दुवै पात्र प्रतिनिधिसभा विघटनपछि नेकपा र कालान्तरमा एमाले भित्रको अन्तरसंघर्षमा केपी ओलीकै लाइनमा रहेका व्यक्तिहरू हुन् । एमाले र माओवादीलाई सर्वोच्चले पुरानै अवस्थामा पुर्याएपछी ओली समूहको लीडिंङ गरेर पछिल्लो पटक अध्यक्ष बनेका हुन भण्डारी । जसले सुनसरीमा करिब शून्यमै झरेको एमालेको गतिविधिलाई जुरुक्क बोकेका थिए ।
पोख्रेल भने दश बुँदेलाई सहमतिमा ल्याउन केन्द्रीय महाधिवेशन अगाडी अधिवेशन आयोजना गर्न बनेका अध्यक्ष हुन् । खासमा, जिल्ला अधिवेशन गराउने म्यान्डेट पोख्रेलको थियो । त्यसपछि उनले पार्टी नेतृत्व पुनः भण्डारीलाई छोड्ने मौखिक सहमति भएको भण्डारी पक्षको भनाई छ ।
तर, पोख्रेललाई अध्यक्ष भएपछि पुनः दोहोरिने इच्छा देखियो । त्यही इच्छालाई १० बुँदे समूहले संस्थापन समूहमा फाटो ल्याउने अस्त्रको रूपमा लियो । दुवै ओली लाइन भने पनि पोख्रेल भने १० बुँदेका नेता भीम आचार्य सँग भण्डारी भन्दा धेरै नजिक थिए ।
पोख्रेल र आचार्यको नजिकपनले राष्ट्रिय महाधिवेशनमा खासै प्रभावशाली नदेखिएको १० बुँदे पक्षधरहरू संस्थापनकै दुई उम्मेदवार भएकाले सुनसरीमा निर्णय देखिएको हो ।
रेवती भण्डारी त पछिल्लो समय भीम आचार्यका सदाबहार विरोधी भइहाले । त्यसैले भण्डारीलाई रोक्नैको लागि पोख्रेललाई १० बुँदे समूहले अध्यक्षको उम्मेदवार बनाएको अहिले देखिन्छ ।
भण्डारीको सवाल पक्ष भनेको चाहिँ एमाले भित्र सङ्क्रमणको अवस्थामा पनि पार्टीलाई गतिशील बनेको जस छ । माधव नेपाल र केपी ओली बिच अन्तरसंघर्ष चल्दा जिल्लाको नेतृत्व लिएर पार्टी गतिशील बनाएको कारण भण्डारीलाई कार्यकर्ताले साथ दिन्छन् भन्ने छ ।


