इटहरी। भारतबाट नेपाल भित्रिएको लाखौं मूल्य बराबरको सयपत्री फूलको माला नेपाल प्रहरीले बरामद गरेर नष्ट गरेपछि यहाँका व्यावसायिक फूल कृषकलाई राहत मिलेको छ । 

प्रहरीले नेपाल भारतको सीमास्थित भद्रपुर क्षेत्रको नाकाबाट भित्रिएका २५ लाख ६३  हजार ४०० रुपैँया  मूल्यका फूलहरु एकैसाथ बरामद पछि खाल्डो खनेर पुरेको थियो । यता इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टिमले समेत बजारमा बिक्रीका लागि राखेको २ सय ५० केजी भन्दा बढी भारतबाट ल्याइएका तयारी माला पसलबाटै बरामद गरेर पत्रकार र जनप्रतिनिधिको रोहबरमा नष्ट गरेको छ । प्रहरीले खोजबिन गरी केहि विक्रीका लागि राखिएका अतिसवाजी पट्काजन्य पदार्थलाई समेत पानी हालेर नष्ट गरिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख विष्णुप्रसाद सापकोटाले बताउनुभयो ।

झापा भद्रपुर नगरपालिका ८ देविवस्ती क्षेत्रबाट सशस्त्र प्रहरीको गस्ती टोलीले २५ लाख ६५  हजार ४०० मूल्यका सयपत्री र कमलको फूल बरामद गरेको हो । बरामद गरिएको फूललाई प्रहरी, जनप्रतिनिधि र पत्रकारको रोहवरमा नष्ट गरिएको छ । यता भारतबाट भित्र्ने सयपत्री फूल प्रहरीले बरामद गरेसगै झापामा व्यावसायिक रुपमा फूलखेती गर्ने कृषकहरुलाई भने राहत मिलेको छ । झापा बुद्धशान्ति गाउँपालिकामा ६ विगहा क्षेत्रमा व्यावसायिक सयपत्री फूलको खेती गरिरहनुभएका कृषक कृष्ण ढकालले झापाका सबैजसो बजारमा घुम्ती सेवा राखेरै फुलको विक्री गरिरहेको बताउनुभयो । हाम्रातिर अन्य कृषकहरुले समेत यसरी फूल खेती गर्नुभएको छ झापाली चेली माइतिलाई पुग्नेगरी हामीले खेत खेतमा फूल खेती लगाएका छौं भारतबाट ल्याउन जरुरी छैन ढकालले भन्नुभयो । 

यता झापा कनकाई नगरपालिका ४ की कविता बस्नेतले समेत आफ्नो १५ कठ्ठा जमिनमा सयपत्रीको फूल लगाएको र बोटबाटै विक्री गर्ने गरेको बताउनुभयो । यता झापाको मेचीनगर नगरपालिका क्षेत्रका  १५ कालिकाझारका  विभिन्न कृषकहरुले समेत ५ विगहा क्षेत्रमा फूलखेती गरेको र भारतीय बजारबाट फूल खरिद नगर्न पालिकाले सर्वसाधरणमा सूचना  समेत जारी गरेको छ । 

झापामा मात्रै व्यावसायिक रुपमा २० विगहा भन्दा वढी क्षेत्रमा व्यावसायिक फूलखेती गरिदै आएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्टले बताउनुभयो ।  झापा क्षेत्र नम्बर ४ का सांसद शम्भु ढकालले फूल खेती गर्ने र स्वदेशमा सरकारले स्वरोजगार निर्माण गर्ने युवा कृषक लक्षित निति बनाउन सरकार लागि परेको बताउनुभयो । पारीको होईन वारीको खाउँ फूलमाला पनि आफ्नै बारीको लगाऊ भनेर हामीले नागरिकलाई भनिरहेका छौं माननीय ढकालले गोरखापत्रसंग भन्नुभयो ।  यसअघि झापाका व्यावसायिक फूल कृषकरुले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेरै भारतीय सयपत्री फूल आयात रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।