इटहरी ।  तिहार मनाउन घर आएका वा बिदापछि कार्यक्षेत्र फर्कनुपर्ने हतारोमा रहेका सेवाग्राहीलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय झापाले दुई दिन राहदानी र राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले तिहार बिदाका बीच पनि सेवाग्राहीको सहजताका लागि कात्तिक २३ र २४ गते विशेष सेवा सञ्चालन गर्न लागिएको जानकारी दिएका छन् । प्रशासन कार्यालयमा प्रिन्ट भएर आइसकेका राष्ट्रिय परिचयपत्र र राहदानी सेवाग्राहीले उक्त दुई दिन कार्यालयमा उपस्थित भएर बुझ्न सक्नेछन् ।

पोखरेलले यसलाई ‘दुई दिन, दुई सेवा स् झापाली सेवाग्राहीको पेवा’ भन्दै अत्यावश्यक कामले कर्मक्षेत्र फर्कनुपर्ने नागरिकलाई लक्षित सेवा भएको बताएका छन् । विशेषगरी तिहार बिदापछि कार्यालय खुल्ने समयसम्म पर्खन नसक्ने र तत्काल राहदानी वा राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने सीमित सेवाग्राहीले यो सुविधा लिन सक्नेछन् । तयार भएका कागजात बुझ्न वा आवश्यक जानकारी लिन फोकल पर्सनको मोबाइल नम्बर ९८६२३२४२१५ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ ।

त्यस्तै, आफ्नो राहदानी वा राष्ट्रिय परिचयपत्र प्रिन्ट भएर आएको छ वा छैन भन्ने अवस्था बुझ्न सम्बन्धित कागजातको तस्बिर खिचेर ह्वाट्सएप नम्बर ९८५२६५२०६६ मा पठाउन सकिनेछ । प्रशासनले उक्त ह्वाट्सएप नम्बर कागजातको अवस्था बुझ्नका लागि मात्र प्रयोग गर्न आग्रह गरेको छ । नियमित कार्यालय समयबाहिर पनि अत्यावश्यक सेवाग्राहीलाई सेवा दिने प्रशासनको यो पहलले सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने प्रयासका रूपमा हेरिएको छ ।