इटहरी । विवाहेत्तर प्रेम सम्बन्धबारे थाहा पाएपछि मोरङको जहदामा एक पुरुषको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफ्नै श्रीमती र उनका भारतीय प्रेमी मिलेर फलामको रड प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मृत्यु हुनेमा जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेन छन् । आइतबार राति करिब ९ बजे उनको टाउकोमा फलामको रड प्रहार गरी हत्या गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए । प्रहरीका अनुसार बुधरामकी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहारस्थित कटिहार जिल्लाका २७ वर्षीय सुनील मिश्रले उनीमाथि रड प्रहार गरेका थिए । गम्भीर चोट लागेका बुधरामको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रारम्भिक अनुसन्धानमा कमली र भारतीय नागरिक सुनीलबीच प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीले जनाएको छ । श्रीमतीको भारतीय नागरिकसँग सम्बन्ध रहेको थाहा पाएपछि बुधरामसँग विवाद उत्पन्न भएको र त्यसपछि दुवैले मिलेर योजनाबद्ध रूपमा हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटनापछि प्रहरी चौकी मझारेबाट खटिएको टोलीले सुनीललाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो । फरार भएकी कमलीलाई भने सोमबार बिहान करिब साढे ७ बजे घरबाट एक किलोमिटर पश्चिमतर्फ खेतमा भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले हत्यामा प्रयोग भएको फलामको रडसमेत बरामद गरेको छ । मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ । पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ । घटनाको थप कारण र हत्याको योजनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।