इटहरी । खेलकुद मार्फत एकता, सद्भाव र स्वस्थ समाज निर्माण गर्ने उद्देश्यसहित आयोजित प्रथम टुटे देउराली कप–२०८३ खुला पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको छ । 

प्रतियोगितामा डाफे मुनाल युथ क्लब मुसाङ्खेलले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको छ । प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा उजागर गर्नुका साथै खेलप्रेमी तथा स्थानीयवासीमा उत्साह थपेको छ । फाइनल खेल तथा पुरस्कार वितरण समारोहमा लालीगुराँस नगरपालिकाकी उपप्रमुख जमुना मगर कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा विभिन्न अतिथि, खेलप्रेमी, स्थानीयवासी तथा खेलाडीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई ट्रफी, मेडल र पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगिताको समापनका अवसरमा आयोजक क्लबका अध्यक्ष हेमबहादुर गुरुङले प्रतियोगिता सफल बनाउन सहयोग पु¥याउने सम्पूर्ण सहयोगी, खेलाडी, अतिथि, दर्शक तथा खेलप्रेमीप्रति आभार व्यक्त गर्नुभयो । स्थानीयस्तरमा फुटबल खेलको विकास, नयाँ प्रतिभाको पहिचान र युवालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले खेलकुदको महत्वसँगै सामाजिक एकताको सन्देशसमेत दिएको छ ।

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई आत्मसात् गर्दै यस्ता प्रतियोगिताले स्थानीय खेलकुदको विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।