इनरुवा / सुनसरीको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवमा भएको घटना छानबिनका लागि सुनसरी प्रशासनले छानबिन समिति गठन गरेको छ । सुनसरी प्रशासनले घटना छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल संयोजक रहेको समितिमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डिएसपी मित्रलाल श्रेष्ठ सदस्य रहेका छन् ।

त्यसैगरी राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरीसमेत छानबिन समितिको सदस्य रहेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गठित समितिलाई महोत्सवको क्रममा भएको आगजनी र तोडफोडका सम्बन्धमा अध्ययन तथा अनुसन्धान गरी ५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको बताए ।

यसैबीच सुनसरी प्रशासनले घटनाका सम्वन्धमा पत्रकार सम्मेलन समेतको आयोजना गरी आफ्नो धारणा सार्वजनिक गरेको छ । सो क्रममा प्रशासनले महोत्सवमा भएको घटनामा बर्जु गाउँपालिको कार्यालय पूर्ण दोषी रहेको बताएको छ । महोत्सव आयोजकका रुपमा रहेको गाउँपालिकाले प्रशासनको निर्देशन अटेर गर्दा दुर्घटना भएको प्रशासनको ठहर छ ।

प्रजिअ यादवले महोत्सव रोक्न गरिएको आफुहरुको पटक पटकको प्रयासलाई गाउँपालिकाले बेवास्ता गरी मनोमानी गर्दा दुर्घटना निम्तेको बताए । उनले मानवीय क्षति रोक्न भीडमाथि बल प्रयोग गर्न नसकिएको जिकिर गरे । उनले प्रहरी प्रशासनले संयमता अपनाउँदा मानवीय क्षति हुन नपाएको बताए ।

महोत्सवमा बोलाइएका भोजपुरी कलाकार नआएपछि आक्रोशित भीड तोडफोड र आगजनीमा उत्रिएको थियो । सो क्रममा चार वटा भारतीय नम्बर प्लेटको स्कारपियो र एक थान मोटरसाइकलमा आगजनी भएको थियो । क्षतिको विवरण भने संकलन भइरहेको प्रशासनले जनाएको छ । घटनाका सम्बन्धमा स्वयं भारतीय कलाकार खेसारीलाल यादवले आयोजकको कमजोरी भन्दै क्षतिपूर्तिको दाबी गरिसकेका छन् ।