इटहरी / इटहरीको दक्षिणी सीमा क्षेत्रमा पर्ने वडा नम्बर १५ स्थित भोटिया खोलामा पुल शिलान्यास गरिएको छ ।

इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले पुल शिलान्यास गरेका हुन् । ४ करोड १६ लाख ४१ हजारको लागतमा दुई वर्षमा सो पुल निमार्ण भइसक्ने सम्झौता छ । इटहरी र इनरुवा जोड्ने सो पुल निर्माणपछि स्थानीय लाभान्वित हुने उपमहानगरका प्रमुख चौधरीले बताए ।

खेतिपाति गर्न र कृषि उपज बजार पुर्याउनका लागि स्थानीयलाई पूल अति नै आवश्यक भएकाले उपमहानगरले तीन वर्षको रकम जुटाएर पुल निर्माण थालेको उनको भनाइ छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत सूर्य सुवेदीलेले निर्धारित समयमै गुणस्तरीय काम हुनुपर्नेमा जोड दिए । वडा नम्बर १५ का कार्यवाहक वडाध्यक्ष सुवोधनारायण चौधरी र वडा सदस्य अशोक चौधरीले स्थानीयको एउटा ठूलो समस्या समाधान हुन लाग्दा स्थानीय अत्यन्तै हर्षित बनेको बताए ।

यो इटहरी उपमहानगरपालिकाको पुल निर्माणको ठूलो योजना हो । साढे चार वर्षको अवधिमा इटहरीमा ठूला दुईसहित साना ठूला गरी १९ वटा पुल निर्माण भएका छन् । भोटिया खोलासहित दुई वटा ठूला पुल योजना अहिले सञ्चालित छन् ।