सोलुखुम्बुको सोताङ गाउँपालिका १ हुलुकी २५ वर्षीया मनकुमारी कार्की असोज ८ गतेदेखि बेपत्ता भएपछि प्रहरीले उनको खोजतलासको लागि ‘सर्च अप्रेसन’ सञ्चालन गरेको छ । एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत उनको साथबाट ४ लाख रुपैयाँ बढी नगद समेत गायब भएपछि १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको संयुक्त टोली सर्च अप्रेसनमा जुटेको हो ।
जिल्लाको प्रहरी टोलीलाई थप मद्दत गर्न प्रदेश प्रहरीको रिजनल इन्भेष्टिगेशन टिम (आरआईटी) को दुई जना (एनालाइष्ट) विश्लेषण टोली कार्की बेपत्ता भएको स्थान पुगेर काम सुरु गरेको छ । यो टोलीले प्राविधिक पक्षको विश्लेषण गदै बेपत्ता हुनुको कारणको अनुसन्धान गर्छ ।
अहिले जिल्ला प्रहरी कार्यालयको टोली भने उनी हिँडेको बाटो र सम्भावित जान सक्ने ठाँउहरुमा सर्च गरिरहेको छ ।
मासिक बैठक सञ्चालनका लागि माप्यदुधकोशी–६ र ७ वाकुमा कार्कीसँगै अर्का एक कर्मचारीसँगै गएपनि सोलाबनबाट हाकुला झर्नेक्रममा एक अर्का छुट्टिएपछि उनी बेपत्ता भएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी अरुण बिसीले जानकारी दिए ।
बिसीले भने ‘बेपत्ता कर्मचारीको खोजीमा अहिले सर्च अप्रेसन चलाइरहेका छौ ।’ प्राविधिक विश्लेषण गर्ने टोली पनि विराटनगरबाट गएको छ । प्रहरीले सकृयता पूर्वक बेपत्ताको खोजी गरिरहेको छ ।
कसरी हराइन् मनकुमारी ?
‘७ गते बिहान हाकुलामा बैठक सकेर सोलाबनमा पनि बैठक सञ्चालन गर्न दुवैजना पुग्यौँ’, मनकुमारीसगै गएकी कमला बस्नेतले भनिन्, ‘बेलुका सोही गाउँका एकजना शेर्पा दाइकोमा वास बस्यौँ र भोलिपल्ट असोज ८ गते फेरि हाकुला फर्किदै गर्दा मनकुमारीले खास्बरी दिदीकोमा किस्ता लिन जान्छु भनेर बीच बाटोबाट तल झर्नुभयो।’
७ गते रातिदेखि आफू बिरामी परेको कमलाले बताइन्। ‘म बिरामी भएकाले भीम दाइकोमा आउँदै थिए, ४ः२२ मा मनकुमारीको म्यासेज आयो भीम दाइकोमा गएर बस्दै गर्नु है भन्ने’, कमलाले भनिन्, ‘मनकुमारी तलबाट आउनुहुन्छ भन्ने लाग्यो म भीम दाइकोमा गएर बसेँ तर आउनु भएन ।
मलाई गाह्रो भएर घर जान बाइक भनेँ, त्यो वेला सात बज्न लागेको थियो। उहाँलाई फोन गर्दा अफ थियो।’

