सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा ४ स्थित बलियामा एक महिलाको सामुहिक बलात्कार भएको छ । बलिया स्थित श्रेष्ठ होटल एन्ड फेमीली लजको एउटा कोठामा बन्धक बनाएर एक महिला माथि तीन जनाले शुक्रबार राति सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कारको सिकार भएकी महिलाको अत्यधिक रक्तश्राव भएका कारण महिलाको अवस्था निक्कै गम्भीर बनेर गएको उपचारमा संलग्न चिकित्सकलाई उद्रित गर्दै प्रहरीले जनाएको छ । पीडितको उपचार विराटनगर स्थित कोशी अस्पतालमा भइरहेको छ ।

इटहरीमा काम सकेर सुन्दरहरैँचाकै गछिया स्थित बहिनीको घरमा फर्कदै गरेको अवस्थामा उनलाई रामबहादुर नेपालीले शुक्रबार साँझ ६ बजेतिर गाडीमा राखेर गछियाबाट लगेको प्रहरीले जनाएको छ ।

रामबहादुरले बहिनीको घर पुर्याइदिन्छु भन्दै गाडीमा राखेर होटलमा लगेको पाइएको डिएसपी मञ्जिल मुकारुङले बताए । प्रहरीले उनको नाम रामबहादुर नेपाली हो कि हैन भनेर यकिन हुन भने बाँकी रहेको जनाएको छ ।

मोरङका डिएसपी मञ्जील मुकारुङले अनुसार घटनामा संलग्न भएका होटल सन्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठ पक्राउ परेका छन् । सोही होटलमा काम गर्ने आरती श्रेष्ठलाई पनि नियन्त्रणमा लिइएको छ । बलात्कारको घटनामा संलग्न भएको भनिएका २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर भएका रामबहादुर नेपाली फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

पारिवारिक आर्थिक अवस्था कमजोर भएकी महिलाले शुक्रबारदेखि नै सुनसरीको इटहरीस्थित एउटा घरमा काम गर्न थालेकी थिइन् ।

बलात्कार गर्न नदिएर महिलाले प्रतिकार गरेपछि अर्जुनले हात भित्र छिएर महिलाको यौनाङ्ग नै क्षतिविक्षत बनाइदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार अत्यधिक रक्तश्राव भएकी महिलाको यौनाङ्ग क्षतिविक्षत हुनुका साथै शरीरभरि नीलडाम र चोटपटक छ । डिएसपी मुकारुङले प्रतिकार गर्न थालेपछि महिलालाई यातना दिने र कुटपिट गर्ने कामसमेत भएको बताए ।

प्रहरीले घटनाका दोषी विरुद्ध जबरजस्ती करणी लगायतका मुद्दा चलाउने भएको छ ।