ट्रान्सपरेन्सी इन्टरनेसनलले गत वर्ष (सन् २०२१) मा संसारभरका देशहरूको भ्रष्टाचारको स्थितिको सूचकाङ्क सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सीले एक सय ८० देशको भ्रष्टाचारको अवस्था अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । जसअनुसार नेपालमा यसपटक पनि भ्रष्टाचारको अवस्था अघिल्लो वर्षकै जस्तो रहेको पाइएको छ । ट्रान्परेन्सी इन्टरनेसनलले भ्रष्ट्रचारसम्बन्धी विश्व प्रतिवेदनमा नेपालमा अझै भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमा रहेको उल्लेख छ । सो सूचकाङ्ककअनुसार गत वर्ष भ्रष्टाचारमा नेपालले ३३ अङ्क पाएको छ । यस वर्ष नेपाललाई १०० मा ३३ अङ्क (एक सय १७ औँ स्थान) दिइएको छ र गतवर्ष पनि नेपाल अङ्क ३३ (एक सय १७ औं स्थान) नै थियो । यसको अर्थ नेपालको भ्रष्टाचार अवस्था सुध्रिएको छैन । प्रतिवेदनमा भनिएको छ, ‘नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै छ । अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रूपमा लिन सकिन्छ ।’ अघिलो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रूपमा लिन सकिने संस्थाले जनाएको छ । ५० भन्दा कम अङ्क पाउनेलाई ट्रान्सपरेन्सीले बढी भ्रष्टाचार हुने मुलुक मान्छ । २०२१ मा दुईतिहाइ मुलुकले ५० भन्दा कम अङ्क पाई बढी भ्रष्टाचार हुने मुलुकका रूपमा रहेका जनाइएको छ । यस वर्षको औसत स्कोर ४३ छ । त्यसभन्दा कम अङ्क पाउनेलाई अति भ्रष्टाचार हुने मुलुकका रूपमा लिइन्छ । ट्रान्सपरेन्सीका अनुसार गत वर्ष डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा सूचीकृत भएका छन् । ती मुलुकले सयमा ८८ अङ्कक पाएका छन् । सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दक्षिण सुडान रहेको छ । ११ अङ्कसहित उक्त देश एक सय ८०औँ स्थानमा छ । सिपिआई २०२१ मा दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटान सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा छ । भुटानले ६८ अङ्क प्राप्त गरी २५औँ स्थानमा छ ।

