‘हाम्रो स्वास्थ्य हाम्रो जिम्मेवारी, सचेतना अपनाई हटाऔँ महामारी’ भन्ने नारासहित आज रामधुनी नगरपालिकाको झुम्का बजारमा सात सयभन्दा बढी व्यक्तिलाई मास्क वितरण गरिएको छ । झुम्का जेसिज तथा झुम्का जुनियर जेसिजआबद्ध युवा तथा किशोर–किशोरीको टोलीले आज बिहान झुम्का बजारमा सञ्चालन गरेको स्थलगत कोभिड सचेतनासम्बन्धी कार्यक्रमका क्रममा सर्वसाधारणलाई मास्क वितरण गरेको हो । टोलीले बिहान ८ बजेदेखि दिउँसो ११ बजेसम्म रामधुनी नगर हाटबजार परिक्रमासहित सर्वसाधारणलाई मास्क वितरण गरिएको थियो । सडकमा मास्क नलगाई हिँड्ने पैदल तथा साइकल यात्री, मोटर साइकललगायत सवारीसाधन प्रयोगकर्तालाई रोकेर मास्क प्रयोगको महत्त्वसमेत सम्झाइएको झुम्का जेसिजले जनाएको छ
जेसिजको कोभिड सचेतना कार्यक्रममा समुदाय प्रहरी अभियान टोलीआबद्ध सुरक्षाकर्मीले पनि साथ दिएका थिए । झुम्का जेसिजका अध्यक्ष द्वारिका घिमिरे (सुबोध)का अनुसार रामधुनी नगर र सेरोफेरोका क्षेत्रबाट रोजगारीका लागि साँझ–बिहान आउने–जाने मजदुर वर्गका मानिसमा कोभिड सचेतना स्तर कम देखिएकाले मास्क वितरण कार्यक्रम गरिएको हो ।


