जनकपुर । मधेश प्रदेश सरकारले प्रदेशमा कायरत रहेका सञ्चारकर्मीलाई स्वास्थ्य बिमा गर्ने भएको छ । मधेश प्रदेश आम सञ्चार प्राधिकरणले मंलगबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका ८ वटै जिल्लामा कार्यरत रहेका सक्रिय पत्रकाको स्वास्थ्य बिमाका विषयमा विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको छ । लोक कल्याणकारी विज्ञापन प्रदेशबाट प्रकाशित हुने सबै पत्रकारहरूलाई प्रदान गर्ने पक्षमा प्रदेश सरकारले काम गर्ने र त्यसको थालनी आफ्नै मन्त्रालयले गर्ने मन्त्री साहले बताए । उक्त कार्यक्रममा मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले पत्रकारिता क्षेत्रमा कामकाज गर्ने पत्रकारको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य बिमा कार्यक्रम ल्याउन लागेको बताए । मन्त्री साहले मधेस प्रदेशमा कार्यरत श्रमजीवी पत्रकारहरूको स्वास्थ्यका साथै जीवन बिमा गर्नका लागि आमसञ्चार प्राधिकरणले काम अगाडी बढाउनुपर्ने आवश्यकतामा जोड दिए । 

कार्यक्रममा मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्णले पत्रकारहरू धर्म, क्षेत्र तथा जातभन्दा माथि उठेर कलम चलाउने भएकाले पत्रकारको स्वास्थ्यको सुरक्षाका लागि जीवन बिमा कार्यक्रम महत्त्वपूर्ण रहेको बताए । 

मधेश प्रदेशले सञ्चारकर्मीहरूलाई जीवन बिना सम्बन्धी ल्याउन लागेका कार्यक्रम सहारहनीय रहेको प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीले बताए । विगत  ३० वर्ष अगाडीदेखि  आफूले पत्रकारहरूको जीवन बिमाको अवाज उठाउँदै आएकोमा आज त्यसको कार्यान्वयन  मधेस प्रदेश सरकारले गर्न लागेकोमा खुसी व्यक्त गरे । 

मधेस प्रदेशका आम सञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतो, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष राजेश कर्ण लगायतले मन्तव्य  राखेका थिए ।