मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी)बारे सत्तारुढ गठबन्धनबीचमै मतभेद भइहेका बेला  प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तासाझेदार दलका शीर्ष नेतालाई संशोधन गर्नुपर्ने बुँदा सोधेका छन् ।

प्रधानमन्त्री देउवाले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाललाई एमसिसीमा सच्याउनुपर्ने विषयबारे प्रश्न गरेका हुन् । 

आज (बुधबार) देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता भएको थियो । अध्यक्ष नेपालले प्रधानमन्त्री देउवाले एमसिसी सम्झौतामा संशोधन गर्नुपर्ने बुँदाबारे आफूलाई सोधेको बताए । ‘प्रधानमन्त्रीले एमसिसीमा सुधार गर्नुपर्ने कुरा मलाई उपलब्ध गराउनुस्, देशको हित नहुने कुरामा हामी सहमत हुन जरुरी छैन भन्नुभयो,’ नेपालले भने । 

भेटघाटक्रममा दाहाल र नेपालले संशोधन नगरी एमसिसी पारित गर्न नसकिने बताएपछि देउवाले संशोधन गर्नुपर्ने बुँदा मागेका हुन् । 

देउवा, दाहाल र नेपालबीच आज साँझ पनि छलफल भएको छ । पाँचदलीय सत्ता गठबन्धनमा एमसिसी परियोजना कार्यान्वयनबारे साझा धारणा बन्न सकेको छैन । 

प्रधानमन्त्री देउवा एमसिसी कार्यान्वयनको पक्षमा छन् भने माओवादी र समाजवादीले एमसिसीबारे स्पष्ट धारणा बनाएका छैनन् । यही कारण सत्ता गठबन्धन धर्मराएको आँकलनसमेत गर्न थालिएको छ ।