आफू बसोबास गरेको वडा कार्यालयले आफैंलाई सम्मान गरेपछि भोजपुरको षडानन्द नगरपालिका वडा–६ का नागरिक खुसी भएका छन् । 

वडाले सम्मान गरेपछि स्थानीय ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले स्थानीय सरकार अनुभूत भएको प्रतिक्रिया दिएका छन् । वडाले यहाँका ८९ जनालाई सम्मान गर्दै जाडोबाट बचाउन कम्बलसमेत वितरण गरेको छ ।

वडा कार्यालयले ७५ वर्षभन्दा माथिका ६५ ज्येष्ठ नागरिक र अशक्त, अपाङ्गता भएका २४ जनालाई सम्मान गरेको हो । वडाबाट सम्मान पाउँदा ९५ वर्षीया विष्णुमाया श्रेष्ठले खुसी व्यक्त गरिन् । आगामी दिनमा पनि यस्तै कार्यक्रमको आयोजना गर्नुपर्ने सम्मानित नागरिकको भनाइ छ ।

लामो समय योगदान दिएर समाजलाई यो अवस्थामा ल्याउन ज्येष्ठ नागरिकको महत्त्वपूर्ण योगदान रहेकाले वडाले सम्मान गरेको वडाध्यक्ष सुजन राईले वताए । वडाले यसअघिका वर्षमा पनि फरक क्षमता भएका नागरिक र ज्येष्ठलाई खाद्यान्न सहयोगसहित सम्मान गरेको थियो ।