सुन्दरहरैँचा / राष्ट्रिय भूमि आयोगले सुन्दरहरैँचामा भूमि सम्बन्धी समस्या समाधान आयोगको सेवा केन्द्र उद्घाटन गरेको छ । मंगलबार सुन्दरहरैँचा नगरपालिकाको वडा नं ८ स्थित वडा कार्यालयको भवनमा एक कार्यक्रमका बीच सो सेवा केन्द्रको स्थापना गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय भूमि आयोगका केन्द्रिय अध्यक्ष केशवप्रसाद निरौला र नगरप्रमुख शिवप्रसाद ढकालले सेवा केन्द्रको औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो । सुन्दरहरैँचा नगरपालिकाभित्र बसोबास गर्दै आएका भुमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाण पत्र (लाल पुर्जा) वितरण गर्ने उद्देश्यका साथ कार्यालयको स्थापना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख ढकालले भूमिहिन सुकुम्बासीलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाइने र लक्षित वर्गलाई समेटेर अघि बढ्ने प्रष्ट पार्नुभयो । आफ्नै कार्यकालमा नगरका भूमिहिनलाई भूमि उपलब्ध गराउने समेत नगर प्रमुख ढकालले प्रतिवद्धता जनाउनुभयो । त्यस्तै राष्ट्रिय भुमि आयोगका केन्द्रिय अध्यक्ष निरौलाले वर्तमान आयोगले छिटो अवधिमा नै जग्गा धनि लाल पुर्जा वितरण गर्ने गरि काम अघि बढाइएको भन्दै यस अघिका आयोगहरुका दाँजोमा राम्रो र छिटो काम गरि पूर्णता दिने बताउनुभयो । साथै स्थानीय सरकार नजिकको सरकार भएकाले नगरमा रहेका लक्षित भूमिहिन वर्गलाई जनप्रतिनिधिहरुले समेत तत्परता देखाई अगाडी बढ्नुपर्ने बताउनुभयो । प्रथम चरणमा १७ वटा पालिका मध्ये ६ वटा पालिकामा एकै पटक २० गतेबाट प्राविधिक टोलिहरुले काम गर्ने छन् ।
गत पौष २४ गते शनिबार काठमाडौमा एक समारोहकाबीच राष्ट्रिय भूमी आयोग र सुन्दरहरैँचा नगरपालिकाबीच द्धिपक्षीय सम्झौता भएको थियो । सम्झौता संगै लामो समय देखि भोगचलन गर्दै आएका नगरका ६ हजार ७२ जना सुकुम्बासीहरुले जग्गाधनी प्रमाण पुर्जा पाउने भएका छन् ।

कार्यक्रममा आयोगका केन्द्रिय अध्यक्ष केशवप्रसाद निरोला, नगरप्रमुख शिवप्रसाद ढकाल, उपमेयर धनमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत बिनोद भट्टराई, केन्द्रिय सदस्य सरिता महर्जन, भूमि आयोग मोरङ अध्यक्ष शुसिला घिमिरे, १२ वटै वडाका वडाध्यक्ष, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो


