काठमाडौं । नेकपा एमालेले सरकारले स्थानीय तहको निर्वाचन मिति नतोके केन्द्रसहित सातवटै प्रदेशमा दवावमुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले सरकारलाई बिहीबार मिति तोक्ने समय दिएको छ ।

जन संगठनहरुले निर्वाचन मिति तोक्न दवावमुलक कार्यक्रम गरिरहेको एमालेले स्पष्ट पारेको छ । बिहीबार पनि मिति नतोके सातै प्रदेश र केन्द्रबाट समेत दवावका कार्यक्रम सुरु गर्ने निर्णयमा एमाले पुगेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । अध्यक्ष केपी शर्मा ओलीले भने निर्वाचन आयोगले सिफारिस गरेको समयमा सरकारलाई निर्वाचन गराउन सुझाव दिए । ओलीले कुनैपनि हालतमा निर्वाचनको समय सार्न नहुने अडान लिए । उनल सरकारले निर्वाचनको मिति तोक्न नसके वा नचाँहे आन्दोलन गर्ने चेतावनी दिएको बुझिएको छ ।

महिला, युवा, विद्यार्थी र किसान महासंघ बाहेकका अन्य जन संगठनको महाधिवेशन प्रक्रिया अघि बढाउने एमाले सचिवालय बैठकले निर्णय गरेको छ । बैठकले पार्टीको नियमावली, जन संगठनको निर्देशिका पारित गर्नुका साथै सहकारी र स्थानीय निकाय विभागमा सदस्य थप्ने निर्णय गरेको नेता गुरुङले बैठकपछि जानकारी दिए ।

उनले प्रचार विभाग र स्कुल विभाग पनि गठन गरेको भन्दै चैत महिनाभित्र पार्टी सदस्यता वितरण र नवीकरण गरिसक्ने निर्णय गरेको जानकारी दिए । त्यस्तै पार्टी सदस्यतासम्बन्धी केन्द्रमा अभिलेख राख्न प्रत्येक जिल्लामा आइटी विज्ञ राख्ने एमालेले जनाएको छ । सचिवालय बैठकले केही दिनअघि पार्टी छोडेका तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुखलाई निष्कासन गरेको छ । साथै रौतहट र पर्सामा जिल्ला अधिवेशनमा देखिएको विवाद समाधान गर्न केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिएको छ ।

त्यस्तै बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ र सुदूरपश्चिममा भएको अनुशासन उल्लंघन र अन्तर्घातको छानविन गर्न कारवाहीका लागि सिफारिस गर्न प्रदेशलाई निर्देशन दिएको छ । अनुशासन उल्लंघन गर्नेलाई कारवाही गर्न एमाले पछाडि नहट्ने बताइएको छ ।