मोरङको धनपालथान गाउँपालिका–७ उखुबारी र ललितपुरको गोदावरी नगरपालिका–१२ थेचोमा हत्या गरेर गाडेको अवस्थामा तीन जनाको शव भेटिएको घटनाले नयाँ मोड लिएको छ ।
मोरङमा दुई र ललितपुरमा एक जनाको हत्या गरेर गाडेको अवस्थामा प्रहरीले शव उत्खनन गरिसकेको छ । सुनसरीको धरान उपमहानगरपालिका–३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ नागरपालिका–४ घर भई काठमाडौंमा बस्दै आएका ३२ वर्षीय शम्भु चौधरीको शव मोरङको धनपालथान–७ उखुबारीमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको हो । श्रेष्ठ र चौधरीको शव गत माघ १३ र १४ गते प्रहरीले उत्खनन गरेर खाल्डोबाट बाहिर निकालेको थियो ।
यही घटनाको अनुसन्धान गर्ने क्रममा तेह्रथुमको सङ्क्रान्तिका ६२ वर्षीय मोहन लिम्बूको पनि हत्या गरेर गाडेको अवस्थामा ललितपुरको गोदावरीमा शव फेला परेको हो । प्रहरीले बिहीबार साँझ लिम्बूको शव उत्खनन गरेको छ । डोरीले घाँटी कसेर हत्या गरिएको भनिएका तीनै जना व्यावसायिक साझेदार भएको खुलेको छ । मृतकको शारीरिक बनावट र घटनास्थलमा भेटिएको कपडा तथा कागजातका आधारमा आफन्तले शवको पहिचान गरेका हुन् ।
सिरहाका अनिल मण्डलसँग मिलेर उनीहरुले जग्गा लगायतको कारोबार गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । चार जना व्यावसायिक साझेदारमध्ये मण्डलले भारतीय र नेपाली अपराधी प्रयोग गरेर तीन जनाको हत्या गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए ।
अनिललाई केही दिनअघि नै अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । घटनाका बारेमा केही पनि बताउन नचाहेका उनलाई बिहीबार काठमाडौंबाट विराटनगर ल्याइएको छ । यता मोरङ प्रहरीले सुनसरीको भन्टाबारी र बर्जुबाट सात जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको थियो । प्रहरीले धरान, काठमाडौं, झापा, विराटनगर लगायतका स्थानबाट पनि केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।
नियन्त्रणमा लिइएकामध्ये दुई जनाले घटनामा संलग्नता स्वीकार गरिसकेका थिए । हत्यामा संलग्न मण्डलसहित अरु दुई जना गरेर तीन जनालाई नियन्त्रणमा लिएर घटनाका बारेमा थप अनुसन्धान अघि बढाइएको एसपी जिसीले बताए । उनका अनुसार हत्यामा अरु व्यक्तिको पनि संलग्नताको आशङ्का गरिएको छ ।
‘प्रारम्भिक अनुसन्धानबाट अपराधमा संलग्न भारतीय र नेपालीको प्रयोग गरेर हत्या गरेको पाइएको छ,’ जिसीले भने, ‘घटना गराउने तीन जनालाई पक्राउ गरिसकिएको छ । अरु व्यक्तिहरुको खोजी जारी छ ।’ मोरङ प्रहरीले शुक्रबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेर घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने भएको छ ।
हत्या गरिएकामध्ये राजेन्द्रको साथबाट परिचय खुल्ने कागजात भेटिएको थियो । त्यही कागजातका आधारमा उनको पहिचान सम्भव भएको प्रहरीले जनाएको छ । एक सातादेखि घटनामा केन्द्रित भएको प्रहरीको अनुसन्धान अन्ततः सफल भएको छ ।
लिम्बूको हत्या मंसिर २८ गतेअघि नै भएको प्रहरीले जनाएको छ । श्रेष्ठ र चौधरीको हत्या कहिले भएको हो भन्ने यकिन हुन बाँकी छ । तर हत्या मोरङमै गरेर दुवै जनाको शव गाडेको निस्कर्षमा प्रहरी पुगेको छ । उनीहरु दुवै जना एकै समयमा सम्पर्कविहीन बनेका थिए ।
हत्या गर्नुअघि उनीहरुलाई विराटनगरको रत्ना होटल र मेट्रोसिटी गेस्ट हाउसमा राखेको पाइएको प्रहरी स्रोतले बतायो । गत मंसिर पहिलो साता व्यवहार मिलाउन भन्दै श्रेष्ठ काठमाडौंबाट पूर्वतर्फ आएका थिए । चौधरी पनि उनीसँगै आएको प्रहरी निष्कर्ष छ । कल डिटेल रेकर्ड (सीडीआर) ले पनि त्यही सङ्केत गरेको प्रहरी स्रोतले बतायो । उनीसँग सम्पर्क भएकाहरुको विवरण खोतल्दै जाँदा प्रहरीले चौधरी, मण्डल र बिहीबार शव भेटिएका मोहन लिम्बूको कनेक्सन फेला पार्यो ।
मोरङको धनपालथानमा उखु काट्ने क्रममा कामदारले खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि पुगेको प्रहरीले पहिले एउटा खाल्डोबाट चौधरीको शव निकालेको थियो । शव भेटिएको स्थानबाट करिब ३० मिटरको दूरीमा रहेको अर्काे खाल्डोमा श्रेष्ठको शव फेला परेको हो ।
प्रहरीका अनुसार दुवै जनाको हत्यापछि गाड्ने प्रकृति एउटै थियो । छुट्टाछुट्टै स्थानमा शव गाडिएको भए पनि दुवैको घाँटीमा डोरीको डाम थियो । बिजुलीको पोल गाड्ने जस्तो खाल्डो बनाउँदै नुन हालेर गाडिएको अवस्थामा शव भेटिएको हो ।
घटनाको अनुसन्धान अघि बढाउँदै जाँदा पक्राउ परेकाले दिएको सूचनाका आधारमा मोरङ प्रहरीका डिएसपी मञ्जील मुकारुङ काठमाडौंसम्म पुगेका छन् । उनीसहित अपराध महाशाखाको टोलीले ललितपुरको गोदावरीमा गाडेको अवस्थामा लिम्बूको शव फेला पारेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्यामा आठ जना भारतीय नागरिकको प्रयोग गरेको देखिन्छ । व्यावसायिक साझेदार मण्डलले श्रेष्ठ, चौधरी र लिम्बूको हत्यामा प्रतिव्यक्ति पाँच लाख रूपैयाँ दिएर अपराधी प्रयोग गरेको पाइएको छ । ‘पाँच लाख दिने सर्तमा तीन जनाको हत्या गर्न मण्डलले लगाएको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘हत्यामा संलग्नले प्रतिव्यक्ति तीन लाख रूपैयाँ लिइसकेका रहेछन् । दुई लाख रूपैयाँ लिन बाँकी रहेछ ।’
लिम्बूको हत्यापछि हत्यामा संलग्न मण्डल मंसिर २८ गते विराटनगर आएको पाइएको प्रहरीले जनाएको छ । मण्डलसँग श्रेष्ठ र चौधरी पनि विराटनगर आएको पाइएको छ । प्रहरी स्रोतका अनुसार ललितपुरमा लिम्बूको हत्या भइसके पनि श्रेष्ठ र चौधरीलाई भने घटनाका बारेमा थाहै थिएन ।
श्रेष्ठ र चौधरीले व्यावसायिक साझेदार लिम्बूको खोजी भने गरिरहेका थिए । खोजी धेरै गर्न थालेपछि उनीहरुको पनि हत्या भएको प्रहरीको निस्कर्ष छ । उनीहरुको शव नभेटिएको भए घटनाको निस्कर्षमा पुग्न सम्भव थिएन । अझ राजेन्द्रको परिचय खुल्ने कागजात फेला नपरेको भए अनुसन्धान झन् गाह्रो थियो ।
स्रोतका अनुसार चार जना मिलेर जग्गा, हाइड्रो पावर, सिमेन्ट उद्योग लगायतमा लगानी गरेको खुलेको छ । ‘एउटा व्यवसायबाट एक करोडभन्दा बढी कमाई हुन थालेकाले त्यही पैसाको लोभमा परेका मण्डलले योजना बनाएर तीन जनाको हत्या गराएको देखिन्छ,’ उच्च प्रहरी स्रोतले भन्यो, ‘पैसा दिएर मण्डलले हत्यामा सहयोगीहरु प्रयोग गरेको पाइयो । हत्यामा संलग्नले मण्डलबाट अझै केही रकम लिन बाँकी नै रहेको खुलेको छ ।’

