लेटाङ सरकारका पछिल्ला असंवैधानिक तथा राष्ट्रहित विपरीतका कार्यहरु प्रति लेटाङमा नेकपा (एमाले) का भातृ संगठनहरु राष्ट्रिय युवा संघ र अनेरास्ववियुका नगर कमिटीहरुको आयोजनामा बुधबार विरोध प्रदर्शन भएको छ । स्थानीय तहको निर्वाचन घोषणामा ढिलाइ, लिपुलेकमा भारतले सडक विस्तार गर्दा सरकारको मौनता, पेट्रोलियम तथा लगायतका अत्यावश्यकीय वस्तुको निरन्तरको मूल्यवृद्धि, प्रदेश सरकारबाट मन्त्रालय फुटाउने कार्य को विरोध गर्दै प्रदर्शन गरिएको हो ।

विरोध कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका पूर्वकेन्द्रीय सदस्य इन्द्र ढकाल, लेटाङ संयोजक उर्गेन तामाङ, अनेरास्ववियु मोरङ जिल्ला सदस्य रुपेश खड्का र लेटाङ अध्यक्ष सागर भट्टराईले वर्तमान सरकार जनताप्रति गैरजिम्मेवार रहेको भन्दै सबैले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय युवा संघ नेपालले केही पालिकाहरुमा एकल रुपमा तथा बाँकी स्थानहरुमा अन्य जनसंगठनहरु सँग संयुक्तरुपमा गरी मोरङका १७ वटै पालिकामा एकै समयमा साँझ ४ बजे विरोध कार्यक्रम आयोजना गरेको हो । यस्तै देशका अन्य ठाउँमा समेत राष्ट्रिय युवा संघको अगुवाइमा विरोध प्रदर्शन गरिएको छ ।