नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको बेथिति हटाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग प्रस्ताव ल्याइएको बताएका छन् । 

मधेश प्रदेश सरकारले जनयुद्ध दिवस अवसरमा आज (आइतबार) जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । 

न्याय क्षेत्र विवादित हुने देखिएपछि समस्याको निकास दिन महाभियोग प्रस्ताव संसद्मा दर्ता गरिएको उनको भनाइ छ । 

गठबन्धनको आमसहमतिमा महाभियोग दर्ता भएको उनले दाबी गरे । अध्यक्ष दाहालले न्यायालयको क्षेत्रमा निकै अन्योल, अराजकता र बेथिति देखापरेको र स्वतन्त्र न्यायालयमा यस्ता बेथिति देखापर्नु देश र जनताका लागि दुःखद् भएको बताए । 

मधेस सरकारले आज जनयुद्ध दिवस अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिएको थियो ।