झापाको मनषा थाइ फुड्स उद्योगमा आगलागी हुँदा चार सय जनाको रोजगारी सङ्कटमा परेको छ । एक अर्बभन्दा बढी लगानीमा सञ्चालित झापाको मेचीनगर १४ दुहागढीस्थित मनषा थाइ फुड्स उद्योगमा शुक्रबार आगलागी भएको थियो ।
सो आगलागीबाट खरानीमा परिणत भएपछि त्यहाँ कार्यरत झन्डै साँढे चार सय श्रमिक–कर्मचारीको रोजगारी सङ्कटमा परेको हो । आगलागीबाट सम्पूर्ण मेसिनरीहरू जलेर कामै नलाग्ने अवस्थामा पुगेको थियो ।
उद्योग पुनः सञ्चालनमा आउन निकै समय लाग्न सक्ने सञ्चालक बुद्धि घिमिरेले बताएका छन् । मगमग र अकबरे नामका चाउचाउ उत्पादन गर्दै आएको उद्योगमा विद्युत् सर्ट भई आगो लागेको र प्लास्टिकजन्य सामान धेरै भएकोले आगो नियन्त्रणमा आउन आठ घण्टाभन्दा बढी समय लागेको थियो ।
उद्योग सञ्चालनमा आउन ढिला भएसँगै उद्योगमा कार्यरत मजदुर कर्मचारीको रोजगारी गुम्ने सम्भावना रहेको छ । उद्योगमा एक सय ५० जना पूर्णकालीन र ३५० जति अल्पकालीन कामदार रहेको घिमिरेको भनाइ छ ।

