नेपाल पत्रकार महासङ्घ झापाले पत्रकार धम्क्याउने कार्यप्रति खेद व्यक्त गरेको छ । मङ्गलबार एक विज्ञप्ति प्रकाशित गरी हालै झापामा एक व्यक्तिले पत्रकारमाथि धम्की दिएको घटनाप्रति महासङ्घ झापाको ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता हर्कत नदोहोर्‍याउन सचेत गराएको छ । 

गौरीगञ्ज दर्पण डटकममा प्रकाशित समाचारको विषयलाई लिएर त्यसका प्रधानसम्पादक मदन राजवंशीलाई फागुन २ गते स्थानीय सञ्जय महतोले धम्की दिएको महासङ्घले जनाएको छ । महतोले पत्रकार राजवंशीलाई फोनमा गालीगलौज गर्दै समाचार लेखेमा हात काटिदिने धम्की दिएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


सो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी भएको जनाउँदै महासङ्घ झापाले यस्ता क्रियाकलाप तत्काल बन्द गर्न भनेको छ । समाचारप्रति चित्त नबुझे कानुनी उपचारमा जानसक्ने बाटो हुँदाहुँदै यसप्रकार प्रेसविरोधी गतिविधि गर्नु निन्दनीय भएको महासङ्घले जनाएको छ ।