सुन्दरहरैंचा / प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तरकारी पकेट कार्यक्रम अन्तर्गत सुन्दरहरैंचा २ का किसानलाई ११ लाख भन्दा बढीको कृषि सामग्री वितरण गरिएको छ । कृषकहरूलाई विभिन्न किसिमका तरकारीको बीउ, मल्चिङ प्लास्टिक, हजारी, टनेल लगायतका सामान दिइएको हो । एक कार्यक्रमका बिच सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, वडा अध्यक्ष डोरीलाल चौधरी, लेखा शाखा प्रमुख शेखर ढकाल, कृषि शाखा प्रमुख फरिन्द्र भट्टराई लगायतले कृषि सामग्री वितरण गरेका हुन् ।

तरकारी पकेट समूहका अध्यक्ष महेश महतोले नगरपालिकाको ५ लाख ९९ हजार ९ सय ४५ रुपैयाँ तथा किसानको ५ लाख २९ हजार ९ सय ४५ रुपैयाँ साझेदारीमा सामग्री किनेर वितरण गरिएको उल्लेख गरेका छन् । समूहमा २७ जना किसान आबद्ध छन् । उनीहरूले लगभग २२ हेक्टर जमिनमा तरकारी खेती गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख ढकालले सधैँभरि एकै क्षेत्रमा अनुदान तथा बजेट दिन नसकिने हुनाले किसानहरूले आत्मनिर्भर हुनुपर्ने बताए । अघिल्लो वर्ष कुनै समूहलाई अनुदान दिइसकेपछि अर्को वर्ष सो समूहले तरकारीको बीउमा पनि आत्मनिर्भर हुनुपर्ने बताए ।

सुन्दरहरैंचा नपा कृषि शाखा प्रमुख भट्टराईले गत वर्ष पनि नगरपालिकाले ६ लाख रुपैयाँको कृषि सामग्री सोही समूहलाई दिएको जानकारी दिए ।