आगामी स्थानीय तहको चुनावमा उम्मेदवार बन्न व्यक्तिगत बेरुजु र पेश्की नरहेको स्वघोषणा गर्नुपर्ने भएको छ ।

निर्वाचन आयोगले तय गरेको आचारसंहिताको मस्यौदामा यस्तो प्रावधान राखिएको हो । आयोगका अनुसार उम्मेदवारी दर्ता गर्दा सम्बन्धित व्यक्तिले व्यक्तिगत बेरुजु र पेश्की नरहेको स्वघोषणा गरेको पत्र पनि साथै पेश गर्नुपर्ने हुन्छ ।

स्थानीय तहलाई पारदर्शी र सुशासनमैत्री बनाउने प्रयासका लागि यस्तो प्रावधान राख्न लागिएको आयोगका अधिकारीहरु बताउँछन् । र कुनै उम्मेदवारले यो प्रावधानअनुसार स्वघोषणा नगरे उम्मेदवारी खारेजसम्म हुन सक्छ ।

‘मेरो बेरुजु छ भनेर तिर्न सक्छ वा वेरुजु पुष्टि भए गाह्रो हुन्छ भनेर उम्मेदवार नै नबन्न सक्छ । स्थानीय तहमा  जनप्रतिनिधि पारदर्शी होस्, छलछाम नगरोस् भन्न यस्तो प्रावधान धेरैको सुझावका आधारमा राख्न खोजिएको हो ।’

नलिनुपर्ने ठाउँमा भत्ता लिएको, आफ्नो सहयोगका लागि कर्मचारी राखेको (सरकारी सेवा बाहेकका) जस्ता विषयमा सम्बन्धित कार्यलयबाट खर्च गरेको रहेछ भने महालेखाले ‘सम्बन्धित पदाधिकारीले नै फर्छ्यौट गर्नू’ भनेर औंल्याएको हुन्छ । यस्तो व्यक्तिगत बेरुजु फर्छ्योट गरेको छैन भने चुनावमा उम्मेदवार हुन नपाउने निर्वाचन आयोगले तय गरेको आचारसंहितामा उल्लेख छ ।

तर, आयोगले आफैं उम्मेदवारहरुको व्यक्तिगत बेरुजु र पेश्की छ वा छैन भनेर खोज्न जाने छैन । नरहेको स्वघोषणा गरे पुग्ने प्रस्तावित आचारसंहिता छ ।