काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदनमा सत्तारुढ दलहरुले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

कांग्रेस प्रवक्ता महतले भने , ‘उहाँहरुले जसरी टेबल गर्न सहयोग गर्नुभयो, त्यसरी नै अनुमोदन गर्न सहयोग गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’

सरकारले आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता पेश गरेको छ र संसदको अर्को बैठक फागुन १२ गते बोलाइएको छ ।

एमसीसी अनुमोदनका लागि सत्तारुढ दलहरुसँगै प्रमुख विपक्षीसँग पनि सम्वाद गरिरहेको भन्दै उनले सत्तारुढ गठबन्धनमा समस्या नआउने विश्वास व्यक्त गरे । 

पूर्व परराष्ट्रमन्त्री समेत रहेका महतले एमसीसीलाई नेपालमा अनावश्यक राजनीतिकरण गरिएको र राष्ट्रघाती भनिएको बताए । एमसीसी जस्तो सहयोग जसले दिएपनि आँखा चिम्लिएर स्वीकार गर्ने भन्दै उनले भने, ‘बीआरआईमा मैले नै सही गरेको हुँ । नेपालको हित हुने कुनै पनि सहयोगलाई स्वागत गर्छौं ।’