सुन्दरहरैँचा / नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नम्बर ६का क्षेत्रीय सभापति देवराज तामाङ्गले नेपाली कांग्रेसलाई सहज रुपमा जिताउन सबैजना लाग्नुपर्ने बताउनुभएको छ। सुन्दरहरैँचा नगरपालिका ३ स्थित बेलगाछी टोल समिती गठन कार्यक्रममा प्रमुख अतिथिका रुपमा तामाङ्गले त्यस्तो भन्नुभएको हो।

उहाँले अघिल्लो स्थानीय निर्वाचनमा सुन्दरहरैँचा ३ का सबै प्रतिनिधी निर्वाचित भएको भन्दै आगामी निर्वाचनमा पनि यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। उहाँले वडा मात्र नभएर नेपाली कांग्रेसले नगरपालिका, प्रदेश सभा अनि प्रतिनिधी सभामा जित्नुपर्ने हुँदा सबैजना एक भएर कांग्रेसलाई जिताउन कार्यकर्ता समक्ष अनुरोध गर्नुभयो।

क्षेत्रीय सभापति तामाङ्गले प्रजातान्त्रिक पार्टीमा उम्मेद्वारका आकांक्षी स्वभावैले धेरै हुने भन्दै यसलाई अन्यथा लिन नहुने बताउनुभयो। उहाँले पाटीमा पुर्‍याएको योगदानको आधारमा टिकट वितरण गरिने भन्दै आँफुले यसअघि पनि उद्घोष गरेको जस्तै नेताको घर धाउने भन्दा जनताको घर धाउने जनताको दुखसुखमा साथ दिनेले टिकटमा प्राथमिकता पाउने बताउनुभयो।

उहाँले टिकटका लागि नेताकामा धाउनुको सट्टा जनताकोमा धाउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो,“नेताको नजिक हुँदा टिकट पाईन्छ भन्ने मानसिकता छ भने आजै त्यागिदिनुस, जनताको सेवामा लाग्नुहोस, पार्टीले मुल्यांकन अवश्य गर्नेछ”।

वडाको नेतृत्वको लागि क्षेत्रीय सभापतिले सिफारिस गर्नुपर्ने प्रावधान रहेको भन्दै सभापति तामाङ्गले यसै वडावासी नेता रमेशजंग रायमाझीसँग सल्लाह गरेर सिफारिस गरिने उद्घोष गर्नुभयो।


उहाँले मेयर उपमेयरको टिकटको बिषयमा आँफु भन्दा माथिल्लो निकायले सिफारिस गर्ने बताउनुभयो। मेयरको उम्मेद्वार आँफु भक्ति सिटौला अनि अरु पनि हुनसक्ने भन्दै यो स्वभाविक प्रकृया रहेको बताउनुभयो।

क्षेत्रीय सभापति तामाङ्गले भक्ति सिटौलाले उम्मेद्वारी गर्नुअघि नै आँफुले पनि मेयरमा उम्मेद्वारी घोषणा गरेपछि केहिले भक्ति सिटौलालाई देवराज तामाङ्गले धोका दिएको लेखेको भन्दै त्यस्तो आलोचना गर्नुभएको छ।


उहाँले अलि कुरो बुझेर मात्र लेख्न आग्रह गर्दै हिजोका दिनमा सिटौलाका लागि सबैले भन्दा बढि आँफुले नै काठमाण्डौ धाएर टिकटका लागि लबिङ्ग गरेको स्मरण गराउनुभयो।

आँफुले कसैलाई धोका नदिएको भन्दै सभापति तामाङ्गले माथिल्लो निकायबाट सिफारिस अनुमोदन भएर आएको नाम आँफुले काटे मात्र धोका हुने भन्दै भन्दै आँफुले कहिल्यै पनि त्यसो नगरेको र अव पनि नगर्ने बताउनुभयो।