इटहरी । प्रदेश १ सरकारले ६ वटा स्थानीय तहका सिमाना परिवर्तन गर्न संघीय सरकारलाई सिफारिस गरेको छ । कटारी नगरपालिका फुटाएर अर्को गाउँपालिका बनाउन र अन्य ५ वटा पालिकाका वडा टुक्र्याउन सिफारिस गरेको हो । 

त्यसअनुसार प्रदेश १ सरकारले कटारी नगरपालिकाका ९, १०, ११, १३ र १४ वडा समेटेर अर्कै पालिका बनाउन सिफारिस गरेको छ । २०७३ सालमा ७ वटा गाविस र एउटा नगरपालिका मिलाएर कटारी नगरपालिका बनाइएको थियो । कटारीमा कूल १४ वडा छन् ।

त्यतिबेला नै पनि स्थानीयले सिखानी, सोरुङगछविसे, मयंखु, लिम्पाटार र हर्देनीको केही भाग मिलाएर छुट्टै पालिका बनाउनुपर्ने माग गरेका थिए । तर माग सम्बोधन भएको थिएन ।

यस्तै इलामको सूर्योदय नगरपालिकाले आफ्नो १ नं. वडा, इलामको माङसेबुङ गाउँपालिकाले वडा नम्बर ३, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको वडा नम्बर ७ लाई टुक्राउन माग गरिएको छ भने ओखलढुंगाको मोलुङ गाउँपालिका र लिखु गाउँपालिकाका वडा पनि फुटाउन सिफारिस गरिएको छ ।

अहिले पनि स्थानीय तहको निर्वाचन मिति घोषणा भइसकेकाले प्रदेशले गरेको सीमा हेरफेरको सिफारिस कार्यान्वयन हुने स्थिति भने छैन ।