रामधुनी / रामधुनीमा युवासङ्घको एक कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी(एमाले) सुनसरी जिल्ला कमिटी अध्यक्ष रेवती रमण भण्डारीले आगामी चैत्रसम्ममा सुनसरीका करिब आधा माओवादी नेता–कार्यकर्ता एमाले प्रवेश गर्ने तयारीमा रहेको दाबी गरेका छन् ।
‘माओवादी भन्ने पार्टी इतिहासमा विद्यार्थीहरूलाई पढ्नका लागि काम लाग्न सक्छ, राजनीतिमा काम लाग्दैन ।’ उनले भने, ‘अन्तको म कुरा गर्दिन, सुनसरीमा चैत्र महिनासम्म माओवादीका आधा नेता–कार्यकर्ता एमालेमा आउँदै हुनुहुन्छ ।’ लोकतन्त्र, आवधिक निर्वाचन, विधिको शासन, गरिबी निवारण, समाजवाद जस्ता एजेण्ड एमालेसँगै भएपछि अन्य कम्युनिस्ट पार्टीको दोकान खोल्नुको कुनै औचित्य नहुने भण्डारीको भनाई रहेको छ ।
गत निर्वाचनमा पराजय बेहोर्नु परेको रामधुनी नगरपालिकामा यस पटक ३ हजार भोटले चुनाव जित्ने पनि अध्यक्ष भण्डारीले ठोकुवा गरेका छन् । ‘रामधुनीमा जसरी सङ्गठन बिस्तारलाई तीव्रता दिनुभएको छ, त्यसमा म शुभकामना दिन चाहन्छु । अब चाडै रामधुनी नगर स्तरीय प्रशिक्षण राख्नुपर्छ ।’ उनले भने, ‘तपाईँहरू टोल–टोलमा कमिटी बनाउनुहोस्, हामी रामधुनीमा सानदार ३ हजार मतले चुनाव जित्छौँ । यो मेरो मात्र प्रतिबद्धता होइन, तपाईँहरूको पनि हो ।’


