काठमाडौ । अबदेखि अनलाइनबाटै पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्न सकिने भएको छ । पशुपति क्षेत्र विकास कोषले अनलाइन एप्लिकेशनबाटै बुकिङ गरी कोषलाई पैसा पठाएर पूजा गराउन सकिने प्रणाली सञ्चालन गर्न लागेको छ ।
अनलाइन प्रणालीबाट पूजा गर्नका लागि पूजाका प्रकार अनुसार २५५ रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ । एमाले नेता योगेश भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका बेला पशुपतिनाथको ई–पूजा एप्लिकेशनको उद्घाटन भएको र शिवरात्रिपछि यस्तो सेवा उपलब्ध हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यो सेवा मार्फत पशुपतिनाथ मन्दिरमा स्वयं उपस्थित हुन नसक्ने भक्तजनहरूले संसारको जुनसुकै स्थानबाट अनलाइन मार्फत बुकिङ गरेर पशुपतिनाथमा दैनिक रूपमा सञ्चालन हुने पूजा सजिलैसँग गराउन सक्ने कोषको भनाई छ ।

