इटहरी । इटहरी उपमहानगरपालिकाको नगरगौरवको योजना अन्तर्गत कचना वुढिगंगा स्कुल इटहरी ४ को छात्रावास सहितको सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको छ । इटहरी उपमहानगरपाकिाका प्रमुख द्धारिकलाल चौधरीले भवनको शिलान्यास गरे ।

१५ करोड ४४ लाख ७७ हजारका लागतमा दुई बर्षभित्रमा छात्रावास सहितको तीन तले भवन निर्माण हुने उपमहानगरका वरिष्ठ इन्जिनियर जीवन घिमिरेले जानकारी दिए । भवन शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख चौधरीले आफनो कार्यकालमा इटहरीको भौतिक पूर्वाधार विकासमा फडको मारेको बताए । इटहरी उपमहानगपालिकाका वासिन्दाको उल्लेख्य सहयोगमा इटहरीका जनप्रतिनिधिले सम्वृद्धिको अगुवाई गरेको बताए ।

इटहरीवासीले गाँसकाटेर दिएको करबाट इटहरी बनेको उनको भनाई छ । उपप्रमुख लक्ष्मी गौतमले छात्रावास सहितको अत्याधुनिक सामुदायिक विद्यालय यो सुनसरीमै पहिलो हुने दावी गरिन् । उनले यो इटहरी उपमहानगरको शैक्षिक क्षेत्रको फरक र महत्वपूर्ण गौरवको कार्यक्रम रहेको जनाइन् । शिक्षासेवी लेखनाथ घिमिरेले यति ठूलो योजनाका लागि पहल गर्ने इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिप्रति आभार ब्यक्त गरे ।

वडा नम्वर ४ का अध्यक्ष चन्द्र भटटराईको अध्यक्षतमा भएको कार्यक्रमलाई उपमहानगर शिक्षा महाशाखाप्रमुख सूर्य सुवेदी, पूर्व प्रधानाध्यापक केशव सुवेदी, इटहरी खानेपानी सस्थाका अध्यक्ष रामप्रसाद चौलागाई, पूर्व प्रधानाध्यापक केशव सुवेदी, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष दामोदर सापकोटा लगायतले सम्वोधन गरे । इटहरी उपमहानगरपालिकाको पहलमा राष्ट्रिय योजना आयोग मार्फत संधीय सरकारको विशेष अनुदानमा उपमहानगरपालिकाको दश प्रतिशत लगानी थप गरि भवन निर्माण हुने छ ।


