इटहरी । नेपाल कम्युनिस्ट पार्टी (एमाले), इटहरी चार नम्बर वडा कमिटीले ज्येष्ठ नागरिक सम्मान तथा निशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेको छ । पार्टीले चार नम्बर वडा कमिटी अन्तर्गतका तीन वटा टोलमा यो कार्यक्रम आयोजना गरिसकेको छ।

हालसम्म इटहरी उपमहानगर ४ नम्बर वडामा रहेका हलगडा टोल, मनकामना टोल र आइतबारे टोल कमिटीमा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै ज्येष्ठ कम्युनिस्ट मञ्च टोल कमिटी गठन र निशुल्क स्वास्थ्य सिबिरको आयोजना गरिएको चार नम्बर वडाका अध्यक्ष सुनिल कार्कीले ज।नकारी दिनुभएको छ ।

अध्यक्ष कार्कीका अनुसार सम्मान कार्यक्रम अन्तर्गत २१५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरीसकिएको छ भने ५०० भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गर्ने उद्देश्य रहेको छ । त्यस्तै स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत १००० भन्दा बढी नागरिकलाई स्वास्थ्य शिविरको प्रत्यक्ष लाभ उपलब्ध गराउने योजना रहेको उहाँले बताउनु भएको छ ।

फागुन २१ गतेदेखि सुरु भएको कार्यक्रममा, २१ गते हलगडा टोल, २७ गते मनकामना टोल र आज आइतबारे टोलमा गरि क्रमश १००,४६ र ५८ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । वडाभित्र रहेका १३ वटा टोल कमिटीमा संचालन हुने कार्यक्रम चैतको दोस्रो हप्तासम्म चल्ने कार्कीले बताउनु भयो ।