जडिबुटीमा सबैभन्दा उपयोगी र राम्रो औषधी मानिएको क्यामोमाइलको फुलमा टिकटक बनाउनेहरुले खेतीनै ध्वस्त बनाइदिएका छन् । जसले गर्दा जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनी लिमिटेडलाई ३० लाखको क्षति पुगेको छ ।
लोकप्रिय सामाजिक सञ्जाल टिकटकमा भिडियो बनाउनेहरुको कारण मोरङको बेलबारीमा लगाइएको क्यामोमाइल खेतीमा क्षति पुगेको छ । भिडियो बनाउने र फोटो खिच्नेहरुको भिडले जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनी लिमिटेड तरहराले लगाएको क्यामोमाइल खेतीमा लगाएको फूलहरू माडिदा करिब ३० लाख बराबरको क्षति भएको छ । बेलबारीको वडा नम्बर ४ मा लगाइएको बहुमूल्य जडिबुटी क्यामोमाइलको महत्व नबुझेर फुल जथाभावी टिप्ने र माडिने क्रम अझै रोकिएको छैन । फुल माडिन नदिन र रेखदेख गर्न अहिले जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनी लिमिटेड तरहराले १० जना कर्मचारी खेतमा खटाउनु परेको छ । बेलबारीमा प्रत्येक बर्स १५ बिगाहामा क्यामोमाइलको खेती गरिदै आएको छ । १५ बिगाहबाट कम्तीमा पनि ५० देखि ६० लिटर तेल उत्पादन हुने भएपनि टिकटक बनाउन आउनेहरुको भिडले खेती बिगार्दा यो बर्स आधा पनि तेल उत्पादन नहुने अवस्था रहेको जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनी लिमिटेड शाखाका प्रमुख कमल राई बताउनुहुन्छ । क्यामोमाइलको फूलसँग रमाउन आएपनि क्षति नपुर्याउन कम्पनीले आग्रह गर्दै आएको छ ।
अहिले दैनिक सयौँको संख्यामा यो फुल खेतीमा भिड लाग्ने गर्दछ । टिकटकमा भिडियो बनाएर हाल्न थालिएपछि सुनसरी, झापा, इलाम, सप्तरी, काठमाडौँ र पोखराबाट यहाँ भिडियो बनाउन आउने गरेका छन् । केही दिनदेखि सामाजिक सञ्जालमा छाइरहेको यस क्षेत्रमा फुलेको क्यामोमाइलको महत्व नबुझेर जथाभावी रुपमा नोक्सान गरिदिएको देख्दा दुख लागेको स्थानीय बताउँछन ।
टिकटकबाटै यो ठाँउको व्यापक प्रचार भएपछि आफूहरू पनि फुल हेर्न आएको अवलोकनकर्ता बताउँछन् ।
पूर्व पश्चिम राजमार्गसँगै रहेको तथा पर्यटकीय क्षेत्र वेतना सिमसार नजिकै भएका कारण पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको नजरमा क्यामोमाइलको फूल परेको हो । क्यामोमाइलको तेल क्यान्सर प्रतिरोधात्मक औषधीमा बढी प्रयोग गरिन्छ । यसको तेल प्रति लिटर ६० हजार रुपैयाँ पर्न जान्छ । साथै क्यामोमाइलको तेल पेट र यौन वर्द्धक औषधी समेत मानिन्छ । यसको खपत विदेशमा धेरै हुनेगर्छ ।


