इटहरी । इटहरी अस्पतालको लागि डाक्टर माग्दै इटहरीकी उपमेयर लक्ष्मी गौतम यतिखेर काठमाडौस्थित स्वास्थ्य मन्त्रालय पुगेकी छिन् । १५ शैय्याको सुविधासम्पन्न अस्पताल बनाउने गरी भौतिक पुर्वाधार निर्माण भइरहँदा डाक्टरको अभाव भएपछि उनी काठमाडौ पुगेकी हुन् ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयमा उनले डाक्टरसहित ९ जना स्वास्थ्यकर्मी माग गरेको जानकारी दिएकी छिन् । दैनिक ८०० जनाभन्दा बढी मानिसको भीड लाग्न थालेपछि जनशक्ति अभाव भएको भन्दै उपमहानगरपालिकाको पत्र बोकेर मन्त्रालय पुगेकी हुन् ।


इटहरीमा सुविधासम्पन्न अस्पतालको लागि इटहरीवासीले समेत आवाज उठाउँदै आएका थिए । पछि उपमहानगरपालिका तातेपछि अहिले आधुनिक भवन निर्माणाधिन छ । १२ करोडमा ठेक्का सम्झौता भई ७ करोडभन्दा बढीको काम सम्पन्न भएपनि हालसम्म एक रुपैया पनि भुक्तानी नहुँदा समस्या भएको उपमेयर गौतमले बताइन् । उनले भुक्तानीको लागि तीन दिनदेखि अर्थ मन्त्रालय धाइरहेको समेत जानकारी दिएकी छिन् ।


