पोखरामा आइतबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले माओवादी पहिलो पार्टी बन्ने माहोल बन्दै गएको बताए। २०७९ चुनावी वर्ष भएको बताउँदै दाहालले भने, “देशभरीको सबै स्थिति हेर्दा आगामी चुनावबाट हामी पहिलो पार्टी बन्ने संभावनातिर अगाडि बढिसकेका छौं।”
अहिले देशका विभिन्न जिल्लामा भएका कार्यक्रममा सहभागी हुँदा त्यो माहोल देखेको उनको भनाइ छ। “अहिले कार्यक्रममा जो उभार हामीले देखेका छौं, त्यो उभार हेर्दा अब मानिसहरूले फेरि एकचोटी माओवादीलाई जिताउनुपर्छ भन्न थालेका छन्,” दाहालले भने।
स्थानीय चुनाव माओवादीका लागि महत्त्वपूर्ण भएको उनले बताए। “अबको चुनावमा हामी कसैको बैसाखी टेकेर होइन, आफ्नै बलमा चुनाव लड्ने तयारी गर्दैछौं,” दाहालले भने, “एकचोटी फेरि माओवादी आउनैपर्छ।”
आगामी चुनावमा अब अरु पार्टीले माओवादीसँग तालमेल गर्न आउनुपर्ने उनको भनाइ थियो। चुनावी तालमेलका विषयमा सोधिएको एक प्रश्नको जवाफमा दाहालले भने, “अब एक महीनाभित्र अरु सबै पार्टी माओवादीसँग तालमेल गर्न आउनुपर्छ, हामी जाने होइन। किनभने, देशको परिवर्तनको बाहक हामी हो।”
सकभर माओवादी आफ्नै बलमा चुनाव लड्ने प्रयत्नमा रहेको उनले बताए। जित्न नसकिने स्थान मात्रै तालमेल गर्न सकिने उनको भनाइ थियो।


