सुन्दरहरैंचा । पछिल्लो समय मोरङमा नेकपा एमालेले सक्रियता बढाएको छ । अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा नेकपा माओवादी केन्द्रबाट विजयी भएका रंगेलीका नगर प्रमुख तथा उपप्रमुख लगायतलाई एमालेमा प्रवेश गराएको एमालले अन्य पालिकाहरुमा पनि दिनहुँ जसो पार्टी प्रवेशका कार्यक्रम गरिरहेको छ ।

यसैबीच सुन्दरहरैंचामा पनि शनिबार २ सय बढीको संख्यामा एमाले प्रवेश गरेका छन् । एमाले स्थायी कमिटी सदस्य, पूर्व उपसभामुख तथा पूर्वमन्त्री डा. शिवमाया तुम्वाहाम्फेको प्रमुख आतिथ्यतामा सुन्दरहरैंचा ३ गछियामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग गरि ठूलो संख्यामा एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र नगर कमिटी सचिवालय सदस्य तथा वाइसीएल जिल्ला कमिटी सदस्य सुनिल लिम्बूको नेतृत्वमा अखिल नेपाल सुकुम्बासी संघका नगर कमिटी सचिव दीपेश अधिकारी, अखिल क्रान्तिकारी पूर्व जिल्ला कमिटी उपाध्यक्ष रोज्ञन अधिकारी, वाइसीएल नगर कमिटी सदस्य काशीराम दाहाल, नेकपा माओवादी केन्द्र ३ नम्बर वडा कमिटी उपाध्यक्ष पूर्णमाया लिम्बू लगायत २ सय जना नेकपा एमालेमा प्रवेश गरेको राष्ट्रिय युवा संघ सुन्दरहरैंचाका अध्यक्ष जयप्रकाश रायमाझीले जानकारी दिनुभयो । यस्तै सोही कार्यक्रममा सुन्दरहरैंचा ९ बाट समेत केही युवाहरु नेपाली कांग्रेस परित्याग गरि एमालेमा प्रवशे गरेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मीप्रसाद फुयाँल, प्रदेश कमिटी सदस्यहरु केदारप्रसाद गुरागाई, अजम्बर राई, अर्जुनराज अधिकारी, मोरङ जिल्ला कमिटी सदस्यहरु भक्तकिरण राई, राजेश थापा, राष्ट्रिय युवा संघ जिल्ला अध्यक्ष नविन पौडेल, राष्ट्रिय युवा संघ नेपाल सचिवालय सदस्य मनोज राई, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य सुमन मिरिचिङ्ग मगर जिल्ला सदस्य प्रविन घिमिरे लगायतको आतिथ्य रहेको थियो ।