इटहरी । नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् युवा संघ इन्चार्ज महेश बस्नेतले आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टी मम्मर कसेर लागीपरेको बताएका छन् । 

सुनसरीको इटहरीमा सोमबार(आज) आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको आवधिक निर्वाचमा एमाले सम्पूर्ण तागत लगाएर लागिपरेको बताएका हुन् । 

‘यो निर्वाचनमा नेकपा एमाले आफ्नो सम्पूर्ण तागत लगाएर निर्वाचनको तयारीमा लागेको छ’, उनले भने, ‘कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने मान्यतामा हामी छौँ ।’ 

एमालेकै दाबावमा स्थानीय तहको निर्वाचन मिति तोकिएको भन्दै उनले अहिले आएर निर्वाचन नै सार्ने खालका गतिविधि हुन थालेको आभाष भइरहको बताएका छन् । 

‘यो निर्वाचन सार्ने खालको गतिविधि हुँदै छ कि भित्र–भित्र भन्ने खालका आशंकाहरु पनि हामीले अनुभूति गरेका छौँ’, उनले भने, ‘जस्तो, विगतमा अध्यादेशमार्फत् संवैधानीक परिषद्को बैठकबाट भएका नियुक्तहरुलाई खारेज गर्ने र खारेज गर्ने सर्तमा प्रधानन्याधिसलाई महाअभियोग ल्याएर वर्तमान गठबन्धनले निमित्त दिएका न्याधिसहरुसहितको त्यो सर्तमा यो काम भएको र त्यसलाई आधार बनाएर निर्वाचनमा खेल्न सकिन्छ कि भनेर गठबन्धन लागेको भन्ने खबर हामीले पाएका छौँ ।’ 

अहिले विप्लवले निर्वाचनमा सहभागि हुने भनिरहँदा फेरी नयाँ दल दर्ता गराएर निर्वाचन सार्ने काम पनि हुन सक्ने र त्यसको केहि लक्षण देखिन थालेको उनले बताएका छन् ।

 ‘सबैलाई समेट्ने कुरा गर्ने र भित्र–भित्रै चाहिँ चुनाव सार्ने वाहना गर्ने काम भइरहेको छ’, उनले भने, ‘यो निर्वाचन सार्ने खेलमा काँग्रेस भन्दा पनि प्रचण्ड र माधव नेपाल बढी  लाग्नु भएको कुरा चाहिँ हामीले सुनेका छौँ ।’